झापा । झापा गाउँपालिका वडा नम्बर ५ र बाह्रदशी गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्ने हुलाकी राजमार्गको बिरिङ खोलाको पुलमुनि एकजना पुरुषको शव भेटिएको छ ।
कालो प्लास्टिकले बेरिएको शव गन्हाएको अवस्थामा भेटिएको हो । २-४ दिन अगाडि नै मारेर गाडेको हुन सक्ने आशंका गरिएको छ । प्रहरी टोली पुगेर शव गाडिएको ठाउँबाट आज बिहान शव निकालेको छ ।
गाडिएको अवस्थामा फेला परेको शव झापा शिवसताक्षी नगरपालिका १० माइधारका सरोज शर्माको भएको बताइएको छ । शर्माको हत्यामा संलग्न भएको आरोपमा स्थानीय सुनिल साहसँगै २ जना पक्राउ परेका छन् ।
पक्राउ परेका साहको घरमा तोडफोड भएको छ । बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भिडले माइधारका साहको घरमा तोडफोड गरेका हुन् । भिडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ ।
हत्या आरोपमा साहसँगै अन्दाजी २६ वर्षीय राहुल साह पनि पक्राउ परेका छन् । उनीहरु दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो ।