झापा । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उपन्यास ‘प्रेमिल’को चर्चासँगै कवि नवराज पराजुलीले कवितासमेत वाचन गरेका थिए । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा साहित्यकार प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य सरोज ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेट्स रन नेपालका सुरेश खड्काले स्वागत गरेका थिए ।

कार्यक्रममा ‘प्रेमिल’की लेखक भगवती ढुंगेलले समाजमा नारी र पुरुषबीचको सम्बन्धलाई उपन्यासमा उल्लेख गरेको बताउँदै समाजमा एउटी नारीले गरेको संघर्षको कथा ‘प्रेमिल’मा रहेको बताइन् ।

कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेल, नेपाली लेखक संघका केन्द्रीय पाषर्द तथा लेखक कुमार भट्टराईले सशक्त नारी हस्ताक्षरको रुपमा प्रेमिल उपन्यास रहेको बताए । उपन्यासको समिक्षा गर्दै उनीहरुले छ महिनाको अवधिमै दुई वटा उपन्यास प्रकाशन गरेर साहित्यिक क्षेत्रमा ढुंगेल उभिएको बताए ।

कार्यक्रममा साहित्यकार तेजराज खतिवडा (तेराख), मातृका संग्रौला, मीना अधिकारी, टीका भट्टराई नेपाल, प्रेमा भट्टराई लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाली कविता साहित्यमा संगीत र साहित्य समायोजन गरी सामाजिक यथार्थतालाई हुबहू उतार्न सफल कवि नवराज पराजुलीले कविता वाचन गरेका थिए । उनले सगरमाथाको गहिराइमा रहेको कविता सुनाउँदै गर्दा दर्शकहरु समेत मन्त्रमुग्ध भएका थिए ।
त्यस्तै च्याऊ कवितामार्फत एउटी अविवाहित र कुरुप महिलाको व्यथा समेटिएको कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको व्यवस्थापन जनकराज खड्काले गरेका थिए भने सञ्चालन सञ्चारकर्मी तुलसीप्रसाद निरौलाले गरेका थिए ।