झापा । घुस रकम लिएको आरोपमा झापाको मेचीनगर–२ का स्थानीयले वडासचिवलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । वडा सचिव सुरेश घिमिरेले नागरिताको सिफारिस बनाउन स्थानीय सञ्चली तामाङसँग ९ हजार रुपैयाँ घुस लिएको आरोपमा स्थानीयबासीले कारबाहीको माग गर्दै उनलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

सेवाग्राहीसँग पटक पटक घुस लिएको गुनासो आईरहेको र गत शुक्रबार नागरिकता सिफारिस गर्दा ९ हजार घुस लिएको भन्दै आईतबार १० बजेदेखी नै स्थानीयबासीले वडा कार्यालय घेराउ गरेका थिए । घुस्याहा कर्मचारीलाई कार्यालयमा राख्न नहुने भन्दै स्थानीयले बिरोध जनाए पछि प्रहरीले वडा सचिव घिमिरेलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सञ्चलीका श्रीमान पूर्णबहादुरका अनुसार केही दिन अघि उनीहरु नागरिकता बनाउन वडा कार्यालय पुगेका थिए । वडा कार्यालयमा पुग्दा सासुको नागरिकता रामेछापबाट बनाएकोले झापाबाट श्रीमतीको नागरिकता बनाउन झन्झटिलो प्रक्रिया रहेको भन्दै जिल्लामा मिलाईदिने बहानामा वडा सचिब घिमिरेले आफुसँग १० हजार मागेको पिडित तामाङले बताए ।

गत शुक्रबार बिहान ८ बजे नै वडा सचिब घिमिरेले पैसा लिएर वडा कार्यालय आउनु भनेर तामाङलाई भनेकाले तामाङले माघ ४ गते शुक्रबार बिहान ८ बजे नै वडा कार्यालयमा पुगेर सचिब घिमिरेलाई ९ हजार रकम बुझाएका थिए । धुलाबारी घर भएका वडा सचिब घिमिरे पैसा लिनकै लागि कार्यालय समयभन्दा २ घण्टा अगाडी वडा कार्यालय पुगेका थिए । तामाङले वडा सचिबलाई पैसा दिएको कुरा उनका छिमेकीले थाहा पाए पछि मात्र घट्ना सार्वजनिक भएको हो ।

नागरिकताको सिफारिस आफुले गरेको तर पैसाको बारेमा आफुलाई केही जानकारी नभएको वडा अध्यक्ष तिलक न्यौपानेले बताए । आईतबार बिहान स्थानीयले वडा कार्यालय घेराउ गरेपछि प्रहरीले वडा सचिव घिमिरेलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेको छ ।