अर्जुनधारा, झापा । स्थानीय नदीमा मेसिन प्रयोग गर्न नपाइने, ठेकेदारको ज्यादती र नदीजन्य सामग्री ढुवानीमा प्रयोग भएका सवारीसाधनलाई रोक लगाइएको विरोध गर्दै गिटी, बालुवा संकलन गर्ने मजदूरहरुले आइतबार अर्जुनधारा नगरपालिका घेराउ गर्दै तोडफोड गरेका छन् ।

सम्बन्धित ठेकेदारहरुले स्थानीय बिरिङ नदीबाट नदीजन्य सामग्री ढुवानी गर्न सम्पूर्ण सवारीसाधनलाई रोक लगाएपछि आन्दोलनरत् मजदूरहरुले नगरपालिकाको मुख्य कार्यालयमा तोडफोड गरेका हुन् ।

शनिश्चरे प्रहरी चौकीका प्रमुख सई राजन खड्काका अनुसार तोडफोडबाट कार्यालयको सिसा, कार्यालय परिसरमा रहेको चार वटा गाडीको सिसा, कम्पाउण्ड वालको ग्रील र कार्यालय पूर्वतर्फको फलामे गेटमा क्षति पुगेको छ ।

त्यसैगरी स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरी हवल्दार सोमनाथ खवास घाइते भएको सई खड्काले जानकारी दिए । त्यस्तै आन्दोलनरत् मजदूरतर्फ एक जना पहिचान नखुलेको महिला घाइते भएको बताइएको छ ।

सयौंको संख्यामा उपस्थित भएका उनीहरुले रोक लगाएको सवारीसाधनलाई खुला गरिनुपर्ने, ठेकेदार कुमार लिम्बूले हातपात गरेको मजदुर फडिन्द्र दनुवारले न्याय पाउनुपर्ने र खोलामा मेसिन प्रयोग गर्न बन्द गरिनुपर्ने भन्दै दिउँसैदेखि नगरपालिकाको मुख्य कार्यालय परिसर घेराउ गरेका थिए ।

ठेकेदारको दादागिरीका कारण सवारीसाधनलाई नदीमा रोक लगाएपछि आफूहरुको आम्दानीको स्रोत बन्द भइ दैनिक गुजारा गर्न समस्या भएपछि आन्दोलन गर्नुपरेको आन्दोलनका सहभागी मजदुर जनकलाल दनुवारले बताए ।
नगरपालिकासँग भएको ठेक्का सम्झौताअनुसार स्थानीय बिरिङ नदीबाट नदीजन्य सामग्रीहरु उत्खनन् गर्न नपाएको भन्दै गत बिहीबारदेखि सम्बन्धित ठेकेदारले नदीजन्य सामग्री ढुवानीका लागि सम्पूर्ण सवारीसाधनलाई नदीमा प्रवेश निषेध गरेको थियो ।

यता यस विषयमा नगर प्रमुख हरिकुमार रानासँग बुझ्दा बोर्डको बैठकबाट छलफल भइ प्रक्रियाअनुसार मंगलबार सरोकारवाला सबैको सहभागितामा भएको छलफलबाट समस्या समाधान गर्ने निर्णयबारे आन्दोलनरत् मजदूरहरुका प्रतिनिधिलाई जानकारी गराएलगत्तै उनीहरु बैठकबाट बाहिरिएपछि तोडफोडमा उत्रिएका थिए ।