अर्जुनधारा, झापा । झापाको अर्जुनधारामा जारी प्रदेश नं. १ स्तरीय सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि पारिजात महिला फुटबल क्लब झापा र कर्णसिंह सोनाम स्मृति स्पोर्टिङ क्लब ताप्लेजुङ भिड्ने भएका छन् ।

नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा बुधबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा कनकाई नगर खेलकुद समिति झापालाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्दै ताप्लेजुङले पारिजातसँग भिड्ने निश्चित भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । खेलको वूमन अफ दी म्याच विजेता टिमकी गोलरक्षक यमुना गुरुङ घोषित भएकी थिइन् । उनलाई प्रतिष्ठानका सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवेन्द्र दाहालले नगद दुई हजारबाट पुरस्कृत गरे ।

शुक्रबार हुने प्रतियोगिताको समापन समारोहमा संघीय संसद्का उपसभामुख शिवमाया तुम्वाहाम्फे आउने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए । विजेता टिमले नगद एक लाख एक हजार र उपविजेता टिमले ५१ हजार प्राप्त गर्ने छन् ।