अर्जुनधारा, झापा । स्तरन्नोती भए पनि लामो समयदेखि पूर्णरुपमा कालोपत्रे हुन नसकेको झापाको अर्जुनधारा–९स्थित प्रणामी मन्दिर–देवर्सी टोल–नयाँ बसपार्क हुँदै लोकमार्ग जोड्ने सडक किनारका स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बनेका छन् ।

सम्बन्धित निकायबाट चासो नदिँइदा सडकको बाँकी भागमा कालोपत्रे नभएको स्थानीयले आरोप लगाएका छन् भने सरोकारवाला निकाय भने बजेट अभावमा चाहेर पनि सडक कालोपत्रे हुन नसकेको बताउँछ ।

जिल्लाका सहायक सडकहरुमध्ये बिर्तामोड–शनिश्चरे–खुदुनाबारीहुँदै छिमेकी जिल्ला इलाम पुग्ने सडकको वैकल्पिक सडकको रुपमा समेत रहेको उक्त सडकमा दैनिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायातका साधनहरुले उडाउने धुलोका कारण उनीहरु पीडित बनेका हुन् ।

अनुमानित पाँच किलोमिटरमध्ये डेढ किलोमिटर भाग कालोपत्रे हुन बाँकी रहेको सो सडकमा उड्ने धुलोले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर गर्ने तथा कच्ची सडकमा भएको खाल्डाखुल्डीहरुले सवारी दुर्घटनाको जोखिम बढाएको स्थानीय योगेन्द्र पौड्याल बताउँछन् ।

२०२१ सालमा भएको सर्भेको क्रममा साविक शनिश्चरे गाउँ पञ्चायतको नक्सामा रहेको तीन वटा सडकमध्ये उक्त सडक बाँकी भागमा कालोपत्रे गर्नु नै समस्या समाधानको एकमात्र विकल्प भएको उनले बताए । ‘यो भन्दा पछि निर्माण भएका सडकहरु कालोपत्रे भइसके, तर यसतर्फ जनप्रतिनिधिको पनि ध्यान नपुग्दा सडक ओझेलमा परेको छ’, जनप्रतिनिधिहरुप्रति कटाक्ष गर्दै उनले भने ।

साविक २८ फिटबाट आर्थिक वर्ष ०६७÷०६८मा ४० फिट कायम गरी स्तरोन्नतीको कार्य सुरु गरिएको उक्त सडकबाट छिमेकी गाउँपालिका बुद्धशान्तिका विभिन्न स्थानहुँदै इलाम जाने सहज मार्गको रुपमा रहेको अर्का स्थानीय सूर्यप्रसाद अधिकारीले बताए । अनुमानित चार हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने सो सडकको स्तरोन्नती गर्ने क्रममा स्थानीयको तर्फबाट पनि पटक–पटक आर्थिक सहयोग जुटाउने काम भएको उनले जानकारी दिए ।

सडक कालोपत्रेको विषयमा सो क्षेत्रबाट निर्वाचित संघीय सांसद् पवित्रा निरौला खरेल र प्रदेश १ का सांसद् वृख प्रधानलाई जानकारी गराउँदा आश्वासन मात्र पाएको स्थानीय यदु बिमलीले बताए । सोही विषयमा गत महिना स्थानीयहरुले सडक कालोपत्र गरी पाँउ भनी १०४ जना उपभोक्ताले हस्ताक्षर गरेको जानकारी पत्रमार्फत् स्थानीय सरकारलाई ध्यानाकर्षण गराए थिए ।

तत्काल कालोपत्रे वा वैकल्पिक उपाय अवलम्वन गरिदिन आग्रह गरिएको उक्त पत्रमा दुवै कार्य नभए धुलोको कारण हुने रोगबाट जोगिन त्यस सडकमा सञ्चालन हुने सम्पूर्ण यातायातका साधनहरुलाई बाध्य भइ बन्द गर्ने चेतावनी दिइएको थियो ।

साविक शनिश्चरे गाउँ विकास समिति, शनिअर्जुन नगरपालिका, सडक डिभिजन कार्यालय दमकको सहयोगमा खण्ड–खण्ड गरी कालोपत्रे गरिएको उक्त सडकको लागि सबैले पहल नगर्दा बाँकी काम सम्पन्न गर्न बजेट नपरेको नगरपालिकाका इञ्जिनियर निरज अधिकारीले बताए । ‘बत्तीमुनिको अध्यारोझैँ भएको छ’, उनले भने ।

चालु आर्थिक वर्षको लागि बजेट बाँडफाँड गरिसकिएको हुँदा आगामी आर्थिक वर्षमा स्थानीय सरकार र स्थानीयको साझेदारीबाट काम सम्पन्न गर्नुबाहेक तत्कालको लागि अन्य विकल्प नभएको प्रमुख हरिकुमार रानाले बताए ।

उक्त सडक स्थानीयबाट स्तरोन्नती गरिए पनि नाला नखनिएकाले वर्षाको समयमा फेरि स्थानीयबासी पीडित बन्नुपर्ने अर्को समस्या यथावत छ । स्तरोन्नतीका क्रममा सडकको उचाइ बढेपछि स्थानीयको घर सडकभन्दा मुनि परेकाले वर्षाको समयमा हिलाम्मे हुने स्थानीय बसन्त दाहालले बताए ।