काठमाडौं । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ ।

सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । मौसमविद् मीनकुमार अर्यालले जानकारी भने ‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’।

सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र क्रमशः अन्यत्र प्रभाव फैलिने अर्यालले बताए । ‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार बिहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–मौसमविद् मीनकुमार अर्याल मेघ गर्जनसहितको मध्यम र हल्का वर्षा दोहोरिने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।

गत मंगलबार भित्रिएको भू–मध्यसागरको वायुको प्रभावले शनिवार अबेरसम्म मौसम प्रत्यक्ष प्रभावित भयो । शनिवार अबेरसम्म देशभरि नै हिउँदे झरीको प्रभाव परेको महाशाखाले जनाएको छ ।