मेचीनगर/ मेचीनगर नगरस्तरीय खेलकुद विकास समितिका पदाधिकारीहरुको बुधबार सपथग्रहण भएको छ । नगरपालिकाको सभाहलमा समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । मेचीनगर नगरकार्यपालिकाले स्वीकृत गरेको खेलकुद विकास निर्देशिका २०७५ को बुँदा नम्बर ४ बमोजिम बरालको नेतृत्वमा १५ सदस्यीय नगरस्तरीय खेलकुद विकास समिति गठन भएको हो । समितिमा सवै खेलकुद विधामा आवद्ध खेलाडीहरु छन् ।
समितिको पहिलो बैठकले महत्वपूर्ण तीनवटा निर्णयहरु गरेको छ । समितिका सचिव अनन्तप्रकाश वस्तीका अनुसार अबोप्रान्त मेचीनगर क्षेत्रभित्र कुनै पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्दा अनिवार्य समितिको सिफारिस लिनुपर्ने, एक साता पछिदेखि काँकरभिट्टामा सञ्चालन हुन गइरहेको मेची नेत्रालय मेचीनगर गोल्डकपको सह आयोजकको भूमिकामा रहने तथा नगरका १५ वटै वडामा वडास्तरीय खेलकुद विकास समिति गठन गर्ने वैठकले निर्णय गरेको हो ।
नगरपालिकाले तोकेको बजेटको सीमाभित्र रहेर खेलकुद सञ्चालन गर्ने, विभिन्न विधाका प्रतिस्पर्धात्मक खेल आयोजना गर्ने, अन्य पालिकाले आयोजना गरेको खेलकुद कार्यक्रममा आमन्त्रण गरिएमा मेचीनगर नगर क्षेत्रभित्रका खेलाडी टिम वा क्लबलाई आवश्यकता र औचित्यताका आधारमा सहभागी गराउने, निजी क्षेत्रलाई समेत खेलकुदमा सहभागी र साझेदार बनाउने, नगरपालिकाको संयोजनमा विभिन्न विधाका खेलाडीहरुको पहिचान र प्रोत्साहनसम्बन्धी योजना बनाएर स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्नेलगायतका काम, कर्तव्य, अधिकार समितिको रहेको सचिव वस्तीले जानकारी दिए ।
यसैगरी, खेलकुद विकासका लागि संघीय तथा प्रदेश सरकारसँग समेत समन्वय गरी खेलकुद वार्षिक कार्ययोजना बनाएर स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने, नगरपालिकाबाट स्वीकृत खेलकुद कार्यक्रम सञ्चालन गर्ने, वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय खेलकुद समिति गठन गर्ने, प्रत्येक खेलको ११ सदस्यीय विषयगत नगर खेलकुद समिति गठन गर्ने, खेलकुदको माध्यमबाट मेचीनगरलाई उत्कृष्टताको परिचय दिने काम समेत समितिले गर्नुपर्दछ ।
समितिको अध्यक्ष नविन वराल, उपाध्यक्षमा सुमनध्वज थापा, सचिवमा अनन्तप्रकाश वस्ती रहेका छन् । सदस्यहरुमा अर्जुन क्षेत्री लम्साल, दीपक घिमिरे, अस्मिता खवास, विपिन प्रसाई, लेखनाथ पराजुली, रविन बस्नेत, मित्रबहादुर सारु मगर, मिन बस्नेत, विमल पाण्डे, भूमिका फियाक, लाक्पा लामा र सपना मगर श्रेष्ठ रहेका छन् ।