अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको वडा नम्बर ७ ले वडाका युवालाई लक्षित गरी बिहीबार लागुऔषधसम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

१५ वर्षदेखि ४० वष उमेर समूहका युवालाई वडा कार्यालयले वार्षिक योजना बनाएर कार्यक्रम गरेको हो । लागुऔषध प्रयोगकर्ताको रोजाइ यसै वडाको विभिन्न स्थान बन्दै गएको बाहिरी तथ्यांक आएपछि वडा कार्यालयले लागुऔषधरहित वडा बनाउन कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष नविन ढुंगानाले बताए ।

कार्यक्रमको अध्यक्षता गरेका ढुंगानाले यो कार्यक्रम प्रभावकारी भएको खण्डमा युवालाई रोजगारमुखी बनाउन थप योजना र बजेटको विशेष व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले लागुऔषधको प्रयोग पूर्णतः अन्त्य गर्नका लागि सहभागीबाट सामुहिक प्रतिवद्धता जनाउन आह्वान गर्दै प्रयोग नगर्नेले साथीसंगीलाई सचेत गराउन पनि आग्रह गरे ।

वडाका कार्यालयका कर्मचारी प्रकाश पौडेलले स्वागत गरेको कार्यक्रममा लागुऔषध प्रयोग गरिरहेका, प्रयोग गरेर छाडेका र गर्दै नगरेका युवालाई समेटिएको वडाध्यक्ष ढुंगानाको भनाइ छ । युवा अगुवा भक्ति सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नाइट चेस क्लब काँकरभिट्टाका सहजकर्ताद्वय सोमराज ढकाल र गोविन्द न्यौपानेले सहजीकरण गरेका थिए ।

वडा परिषदका सदस्य देउकुमार राई, सन्तोष नेम्वाङ, शारदा भट्टराई र गोमा पर्वते उपस्थित भएको कार्यक्रममा १५ जना महिलासहित ५० जनाको सहभागिता रहेको वडा सचिव मुना सुवार निरौलाले जानकारी दिइन् ।