झापा । काठमाडौँको पाहुना टोली चर्च ब्वाइज युनाइटेडसँग आयोजक जलथल एफसीले कञ्चन श्रीमा जारी दोस्रो हल्दिबारी गोल्डकपको फाइनलमा भिड्ने भएका छन् ।

बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा उर्लाबारीको ब्रदर्श युनाइटेड क्लबलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै जलथलले चर्च ब्वाइजसँग भेट पक्का गरेको हो । उसका लागि सन्जोक राईले गरेको गोल नै निर्णायक बनेको थियो ।

कडा प्रतिस्पर्धात्मक भएको खेलमा केही समय तनावग्रस्त बन्यो भने आयोजकका खेलाडी हेमन्त थापामगर घाइते भएपछि बिर्तामोड उपचारका लागि पठाइएको छ । खेलको म्यान अफ दी म्याच एक गोलकर्ता सन्जोक राई घोषित हुँदै नगद तीन हजार पाउन सफल भए ।

आठ टिम सहभागी गोल्डकपको विजेताले नगद १ लाख २१ हजार १११ र उपविजेताले ६१ हजार १११ रुपैयाँ पाउनेछ । फाइनल खेल शनिबार हुनेछ ।