काँकडभिट्टा । झापाको काँकडभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान एफसी सुनसरीले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ ।
खेल अपराहन्न ४ बजेबाट काँकडभिट्टा माविको खेलमैदानमा सुरु हुनेछ । विजयी हुने टोली सेमिफाइनल पुग्नेछ । यसै साता सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा पुरुष फुटबलमा स्वर्ण जितेर लयमा रहेको आर्मी आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, राष्ट्रिय टोलीका खेलाडी भरत खवास, गोलरक्षक विकेश कुथुसहित मैदान उत्र्दैछ ।
मेचीनगर गोल्डकपको पहिलो प्रि–क्वाटरमा च्यासल युथ क्लबलाई पराजित गर्दै धरानले आर्मीसँगको भेट पक्का गरेको हो । जारी प्रतियोगितामा आर्मीको यो पहिलो खेल हो ।
आगामी वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले नगद ५ लाख १ हजार रुपैयाँ सहित ट्रफी पाउनेछन् ।