झापा । सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ६३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले पनि १ सय ६२ रन बनाएर बराबरी गरेपछि खेल सुपर ओभरमा भएको हो। घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

मुम्बईका क्विन्टन डि ककले नटआउट ६९ रनको योगदान गरे। कप्तान रोहित शर्माले २४ र सूर्यकुमार यादवले २३ रन बनाए। जवाफी ब्याटिङमा आएको हैदरावादका लागि मनिष पाण्डेले नटआउट ७१ रनको योगदान गरे।

जितसँगै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको मुम्बई प्लेअफमा प्रवेश गर्ने तेस्रो टिम बनेको छ। यसअघि दिल्ली क्यापिटल्स र चेन्नाइ सुपर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन्।

अब प्लेअफको बाँकी एक मात्र स्थानका लागि हैदरावादसहित चार टिमबीच प्रतिष्पर्धा हुने छ। प्रतियोगिता अन्तर्गत आज किंग्स इलाभेन पञ्जाव र कोलकाता नाइट राइडर्सबीच खेल हुने छ।