काँकडभिट्टा । त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब चौथो मेचीनगर गोल्डकप फुटबलको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन् । अपरान्ह ३ बजेबाट काँकरभिट्टा माविको खेलमैदानमा फाइनल प्रतिस्पर्धा हुँदैछ ।

जारी प्रतियोगितामा आर्मीले धरान एफसी र थ्रीस्टारलाई पराजित गर्दै फाइनल पुगेको हो भने पुलिसले पारो एफसी भुटान र संकटा क्लबलाई हराउँदै उपाधि होडमा उभिएको हो ।

आर्मी र पुलिस चिरपरिचित प्रतिद्वन्द्वी हुन् । आठौं राष्ट्रिय खेलकुदमा यी दुई टोलीबीच स्वर्ण पदकका लागि टक्कर भएको थियो । लिग चरणमा पुलिसले १–० ले आर्मीलाई पछारेको थियो । फाइनलमा भने आर्मीले स्वर्ण जितेको हो । यसपालि आर्मी जित दोहोर्‍याउने र पुलिस ताजा पराजयको बदला लिने योजनामा छन् । फागुन १२ मा सम्पन्न हेटौंडा गोल्डकपमा आर्मी र पुलिस भेट हुँदा आर्मीले टाइब्रेकरमा ४–३ को नतिजाबाट उपाधि कब्जा गरेको थियो ।

चिरपरिचित प्रतिद्वन्द्वीबीचको खेल रोचक हुने अनुमान छ । भर्खरै राष्ट्रिय खेलकुदको जितले आर्मीको मनोबल उच्च देखिन्छ । पुलिस पनि पछिल्लो प्रतियोगिताको उत्कृष्ट प्रदर्शनका कारण लयमै देखिन्छ ।

आर्मीका पहिलो रोजाइका फरवार्ड भरत खवास, बलिया गोलरक्षक विकेश कुथु र सन्तोष तामाङ फाइनलअघिका दुई खेलमा अनुपस्थित थिए । फाइनलमा उनीहरूले खेल्ने या नखेल्नेबारे शनिबार बिहान मात्रै टुंगो लाग्ने प्रशिक्षक चुनबहादुर थापा बताउँछन् ।

भरतको अनुपस्थितिमा नवयुग श्रेष्ठले कप्तानी सम्हाल्ने अनुमान छ । अघिल्ला दुई खेल पनिआर्मीले उनकै कप्तानीमा जितेको थियो । पहिलो रोजाइका गोलरक्षक विकेशको अनुपस्थिति यसपालि आर्मीलाई खड्किने छ । विवश चौधरीले पोस्ट सम्हाल्ने सम्भावना छ ।

आठौं राष्ट्रिय खेलकुदको हारको बदला लिने ध्याउन्नमा पुलिस देखिन्छ । पुलिसले फाइनलमा ४–२–४ को रणनीति अपनाउने भएको छ । रेजिन सुब्बा, रवि पासवान, सुमन लामा र भरत साहले अग्रपंक्ति सम्हाल्ने छन् । तेज तामाङ र हेम तामाङले मध्यपंक्ति सम्हाल्ने छन् । रक्षापंक्तिमा अजित भण्डारी, आशिष गुरुङ, सन्तोष हेमरन र मानबहादुर परियार रहने छन् ।

१० टिम सहभागी गोल्डकपको विजेताले नगद १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पाउनेछ ।