जलथल, झापा । हल्दिबारी गाँउपालिका ४ नम्बर वडा कार्यालय जलथलले स्थानीय अगुवा कृषकहरुलाई तरकारी तथा पशुपालनका लागि अनुदान रकम वितरण गरेको छ ।

वडा कार्यालयमा व्यावसायिक कृषि उत्पादन अनुदान वितरण कार्यक्रमको आयोजना गरी च्याउ खेती, तरकारी खेती र बाख्रापालक कृषकहरुलाई अनुदान रकम वितरण गरेको हो । सोही कार्यक्रममा स्थानीय ५ जना स्वयंसेविकालाई १ १ थान साइकल समेत वितरण गरिएको छ ।

च्याउ खेती गर्ने, सव्जी खेती गर्ने र बाख्रापालन गर्ने कृषकरुलाई वडाअध्यक्ष होमप्रसाद चुडाल, कार्यपालिका सदस्य गीता भण्डारी तिम्सिना, वडा सदस्य महेश मेचे, सदस्य पवित्रा सेन्चुरी, सदस्य केदारप्रसाद उप्रेतीलगायतले अनुदान रकमको चेक हस्तान्तरण गर्नुका साथै स्वयंसेविकाहरुलाई साइकलको चाबी प्रदान गरेका थिए ।

वडा कार्यालयले सव्जी खेती गर्ने अगुवा कृषकलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरेर अनुदान रकम वितरण गरिएको थियो ।
जसअन्तर्गत ए ग्रेडका कृषकलाई जनही १८ हजार, बी ग्रेडका कृषकलाई जनही १२ हजार र सी ग्रेडका कृषकलाई जनही ७ हजार ५ सयका दरले अनुदान रकम वितरण गरेको हो ।

त्यस्तै, च्याउखेतीतर्फ बास्मति कृषक समूह, चन्द्रबहादुर तामाङ र सीता नेउपानेलाई २५ २५ हजार र विष्णुप्रसाद ढकाल र रुद्र मैनाली दुई कृषकलाई संयुक्तरुपमा २५ हजार रुपैयाँको चेक प्रदान गरिएको थियो ।

त्यस्तै, बाख्रापालनतर्फ सुनिल मेचे, श्रीप्रसाद मैनाली र जीतबहादुर राजवंशीलाई क्रमशः ३० हजार रुपैयाँ प्रदान गरियो ।
सव्जी खेतीका लागि विजय लावती, कुमार खतिवडा, इन्द्र खरेल, धनकुमारी चापागाई, कुलबहादुर आचार्य, चन्द्रबहादुर तामाङ र शुक्रचन मेचेलाई अनुदानको चेक प्रदान गरिएको थियो ।

अनुदान कार्यक्रम लञ्च गर्दै वडाअध्यक्ष होमप्रसाद चुडालले गाँउपालिकाको दोस्रो गाँउसभाबाट पारित गरि मापदण्ड पुर्याएर कृषकहरुलाई अनुदान रकम वितरण गरिएको बताए ।

अनुदान वितरण कार्यक्रमको औचित्य प्रकाश पार्दै वडासदस्य महेश मेचेले गाँउसभाले वडा कार्यालयलाई तोकेको ४० लाख रुपैयाँको सिलिङभित्र रहेर शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र अन्य क्षेत्रमा लगानी गरेको जानकारी दिए ।

हल्दिबारीको दृष्टि कृषि र पर्यटनमार्फत समृद्धि भन्ने कार्यक्रम सार्थक बनाउन अनुदान कार्यक्रम लञ्च गरिएको मेचेले जानकारी दिए । अनुदान रकम वितरणले कृषकहरु आत्मनिर्भर बन्न सफल हुनेछन् भन्ने कार्यक्रमको लक्ष्य रहेको पनि वडासदस्य मेचेले बताए ।

वडा अध्यक्ष होम चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरु महेश मेचे, पवित्रा सेन्चुरी, सदस्य गीता भण्डारी तिम्सिना, सदस्य केदारप्रसाद उप्रेती, महिला स्वयंसेविका कमला भट्टराई, च्याउ कृषक सीता नेउपाने, सव्जी कृषक श्यामलाल मेचे, बाख्रापालक कृषक सुनिल मेचे, सहायक कर्मचारी जयप्रसाद दाहाललगायतले अनुदान कार्यक्रम सराहनीय रहेको टिप्पणी गरेका थिए ।

वडासदस्य जयप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा १ सयभन्दा बढी स्थानीय कृषकको उपस्थिति थियो ।