झापा । अर्जुनधारा जलेश्वरधामलाई धार्मिक पर्यटन विकास र प्रवद्र्धन गर्नका लागि सम्भावना देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

धामपरिसरमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोर्डका प्रबन्धक उदय भट्टराईले पर्यटकीय स्रोतको रुपमा राज्यले स्वीकारिसकेको अर्जुनधारालाई धार्मिक पर्यटनसँग जोड्नका लागि बजारीकरणको सम्भावना देखेको बताए ।

‘जसरी वर्षमा एक दिन लाग्ने बाला चतुर्दशीमा लाखौँ भक्तजन आउँछन्’, उनले भने, ‘अन्य चाडपर्व तथा धार्मिक कार्यक्रममा पनि दर्शनार्थी आउने वातावरण बनाउन सकिन्छ ।’

यसका लागि सम्बन्ध विस्तार गर्न जरुरी रहेको उनको भनाइ छ । भारतसँग सांस्कृतिक हिसाबले पनि नजिक भएकाले त्यता लक्षित गरी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने उनले बताए ।

मन्दिर व्यवस्थापन समिति परम्परागतरुपमा धामको विकासमा लागेको बताउँदै उनले यसलाई परिमार्जित गर्दै व्यावसायिक रुप दिन नेतृत्वलाई अग्रसर हुन सुझाव दिए । ‘धार्मिक स्थल भए पनि युगसँग सुहाउँदो परिवर्तन ल्याउँदा के बिग्रन्छ र ?’, उनले प्रश्न गरे ।

बोर्डले सम्बन्ध विस्तार र बजारीकरण गर्ने बताउँदै उनले आवश्यक प्रचारप्रसारका लागि धामले गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताए । ‘बोर्डको मुख्य काम नै प्रवद्र्धन गर्नु हो’, उनले भने । तर, धामको गुरुयोजना बिना बोर्डले पनि केही गर्न नसक्ने उनको स्पष्टयोक्ति थियो ।

मन्दिर परिसरमा भौतिक संरचनाहरु निर्माण गर्न नहुने उनको सुझाव छ । उनले किटेरै भने, ‘मुख्य मन्दिर वरपर भौतिक संरचना नबनाउँदा नै राम्रो हुन्छ ।’ पाँच वर्षभित्र धेरै भौतिक संरचना बनिसकेको बताएका उनले जथाभावी भवन बनाइँदा धामको लक्ष्य दिगो बन्न नसक्ने सुझाव दिए ।

बोर्डले भौतिक संरचनामा लगानी नगर्ने बताउँदै उनले मुख्यतः प्रवद्र्धन, प्रचारप्रसार, बजारीकरण, सचेतनाको काम गर्ने स्पष्ट पारेका छन् ।
बिहीबार धाम समिति र स्थानीयसँग बसेर गरिएको अन्तरक्रियाबाट महत्वपूर्ण जानकारी पाएको बताउँदै उनले धामको इतिहासलाई भविष्यसँग जोड्न वर्तमानमा ज्ञान पाउनु पनि उपलब्धीकै रुपमा लिएको बताए ।

पर्यटन बोर्ड अर्जुनधारा जलेश्वरधामलाई नेपालका १००औँ गन्तव्यको सूचीमा राखेपछि सरोकारावालासँग अन्तरक्रिया गरेको हो । धामका निमित्त अध्यक्ष अम्बिका खतिवडाको अध्यक्षता तथा सदस्य शेखर प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो ।