झापा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई नदीको पुलमा भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्किृय पारेको छ ।
सुजित बुढाथोकीको नेतृत्वमा चारआली ब्यारेकबाट गएको नेपाली सेनाकोे बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बमका कारण ठप्प भएको पुर्पश्चिम राजमार्गको सवारी आवतजावत पनि खुलेको छ । विहान ५ बजे पुलमा बम रहेको सार्वसाधारणले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बमका कारण ३ घण्टा सवारी साधन वारीपारी गर्न नसक्दा सर्वसाधारण लगायत बिरामी तथा परिक्षा दिन हिँडेका विद्यार्थीहरुलाई समस्या भएको थियो ।
बम राखिएको स्थलमा सुगौली सन्धि मार्फत नेपालले गुमाएको भुमि फिर्ता हुनु पर्ने, २०४६ साल देखि अहिले सम्म विदेशीलाई दिएको अंगिकृत नागरिकता खारेज गर्नु पर्ने लगायतका मागहरु लेखिएको गोर्खा नेपाल जनमुक्ति सेनाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।