झापा । पूर्वी नेपालमा बसोबास गर्ने किरात समुदायले मनाउने पर्व साकेला शनिबारदेखि सुरु भएको छ । किरात राई समुदायले अन्नबाली राम्रो होस् भन्ने कामना गर्दै प्रकृति पुजनसहित पर्व मनाउने गरिएको छ ।
वैशाख शुल्क पूर्णिमाको दिनदेखि सुरु हुने यो पर्व एक महिनासम्म जारी रहन्छ । वैशाखे पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली पर्व मनाउने चलन छ । बाली लगाउने मौसममा प्रकृतिको पूजा गरी अन्नबाली सप्रियोस्, अनिकाल नलागोस् भन्दै किरात राई समुदायले उभौली पर्व मनाउँछ भने मंसिर पूर्णिमामा अन्नबाली थन्काएर सहकाल जाग्यो, अन्नबाली सप्रियो भन्दै प्रकृतिलाई धन्यवाद दिने किम्वदन्ती छ ।
यस पर्वको अवसरमा किरात राई समुदाय रहेका नेपालभित्र होस् या विश्वभर नै उल्लासका साथ मनाइने गरेको छ । किरात राई युवायुवती ढोल र भ्mयाम्टाको तालमा ताल मिलाएर हात र खुट्टाको विभिन्न सिलीका साथ नाच्ने गर्छन् । के युवा, के बृद्ध, के बालक सबै यस पर्वमा सहभागी हुन्छन् । एकअर्कामा शुभकामना आदानप्रदान गर्दै साकेला मनाउने गरिन्छ ।
यो पर्वको अवसरमा किरात राई यायोक्खा झापाले मातहतका प्रारम्भिक समितिमा एक महिनाभर सामुहिकरुपमा साकेला मनाउनका लागि तालिका सार्वजनिक गरिसकेको छ । आज पहिलो दिन किराया बिर्तामोडमा भव्यताका साथ साकेला मनाइँदैछ ।
गतवर्ष बिर्तामोड नगर समितिले नाँचगानसहित ¥याली निकालेको थियो । बिर्तामोडको भद्रपुर रोडबाट सुरु भएको ¥याली खानेपानी ट्याङ्की पूर्व रहेको साकेला थान पुगेर टुङ्गाएको थियो । त्यहाँ विधिपूर्वक पूजाअर्चना गरी यो पर्वलाई स्वागत गरिने समितिका कोषाध्यक्ष चित्रप्रकाश राईले बताए । राईका अनुसार बिर्तामोड नगर क्षेत्रमा दुई सय घरपरिवार किरात राई समुदायका छन् ।