चितवन । यहाँ आयोजित भरतपुर गोल्डकपको उपाधि सिएमजी संकटा क्लबे जितेको छ ।
शनिबार क्याम्पा चौरमा भएको फाइनल खेलमा झापा ११ एफसीलाई 3-० गोलले पराजित गर्दै संकटाले उपाधि रक्षा गरेको हो । प्रतिस्पर्धात्मक खेलमा खेलको १४औँ मिनेटमा अमित तामाङले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकमार्फत आकर्षक गोल गरेका हुन् ।
पहिलो हाफमा १-० ले पछाडि परेको झापाले पाएको थुप्रै अवसर गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा लय मिलाए पनि अवसरलाई सदुपयोग गर्न नसक्दा झापाली दर्शक निरश बने ।
दोस्रो हाफ सकिन ३ मिनेट बाँकी रहँदा झापाली डिफेन्डरप सुमिन मैनाली र गोलकिपर किशोर गिरीबीच तालमेल नमिल्दा आत्मघाती गोल भएको थियो । किशोरलाई ब्याक पास मिलाइदिएका सुमिनको पास सिधै गोल भएको थियो ।
त्यस्तै, सोचेअनुसारको प्रदर्शन गर्न नसकिरहेको अवस्थामा थपिएको ४ मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गरेर अन्तर फराकिलो बनाए । संकटा क्लबले जीतसँगै नगद ६ लाख पायो भने उपविजेता झापा ११ ले तीन लाख रुपैयाँमा चित्त बुझायो ।