झापा । अर्जुनधारा नगरपालिकाभित्र रहेका कृषि समूह, सहकारी संस्था तथा पशुपालक कृषकहरुले आउँदो आर्थिक वर्षमा कृषि र पशुको दिगो व्यवस्थापन गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

नगरको कृषि विकास शाखाले आयोजना गरेको कृषि योजनासम्बन्धी सरोकारवालासँगको एक दिने गोष्ठीमा सहभागी कृषकहरुले त्यस्तो सुझाव दिएका हुन् ।

गोष्ठीको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले सहकारीलाई उत्पादनसँग जोड्ने, कृषक समूहलाई प्रधानमन्त्री सुपर जोनसँग जोड्ने कार्यक्रम विगतको प्रयास परम्परागत नीतिका कारण असफल भएको बताए ।

गतवर्ष आइपीएम कक्षा सञ्चालन गरिएको र यसै वर्षदेखि कृषि मण्डी निर्माणतर्फ पनि नगर अघि बढिसकेको जानकारी दिँदै उनले पशुबाट उत्पादन हुने दूधजन्य वस्तुको बजारीकरण, कृषि र पशुलाई अगाडि बढाउन उत्पादनमुखी बनाउने कि अनुदानमुखी बनाउने सम्बन्धित सरोकारवालाले सुझाव दिन आग्रह गरेका थिए ।

कृषिमा आधारित नगरका कृषकलाई खेतको डिलमा बस्ने बनाउने कि हिलोमा पस्ने बनाउने छलफल गरेर निश्कर्षमा पुग्न पनि उनको निर्देशन थियो । सरोकारवाला कृषक र पशुपालकको सुझावबमोजिम नगरले नीति तथा कार्यक्रम तर्जुमा गर्ने उनको भनाइ थियो ।

गोष्ठीमा पशु, कृषि र सहकारीका सरोकारवाला व्यक्तिलाई तीन समूहमा विभाजन गरी राय सुझाव संकलन गरिएको थियो । समूहको निश्कर्ष प्रस्तुत गर्दै उनीहरुले समग्र नगरको विकासका लागि कृषि र पशुको दिगो व्यवस्थापन गर्न जरुरी रहेको बताइयो ।

सहकारी संस्थाको तर्फबाट हरि वाग्लेले सहकारीको थोरै पैसामा नगरले साझेदारी गरेर लगानी गर्ने क्षेत्रमा गुरुयोजनासहित योगदान दिनुपर्नेमा जोड दिए । उनले नगरबाट लागत क्षमतामा पनि बढी जोड दिन आग्रह गरे ।

उत्पादन क्षेत्रमा गुरुयोजना बनाएको खण्डमा सहकारी संस्थाले लगानी गर्न इच्छुक रहेको भन्दै उनले नगरले यसबारे नीति नियम बनाउन जरुरी रहेको औँल्याए ।

त्यस्तै, कृषक समूहका तर्फबाट गोपाल खतिवडाले ठाउँअनुसार माटो परीक्षण गरी बाली छनौटमा कृषकलाई नगरले सहयोग गर्न जरुरी रहेको बताए । वडास्तरमा कृषि तथा पशु प्राविधिकको व्यवस्था गर्न माग गरेका उनले जैविक मलखाद, जैविक विषादीका लागि बजेट विनियोजन गर्न पनि समूहका तर्फबाट सुझाव पेस गरे ।

भौगोलिक अवस्थाअनुसार सिँचाइको व्यवस्था गर्नुपर्ने भन्दै उनले बीऊ विजन केन्द्रका लागि नगर आफैँले छनौट गरी सञ्चालन गर्नसके कृषक अन्योलमा नपरी उत्पादनमुखी भएर जाने विश्वास व्यक्त गरे । कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण पनि आवश्यक रहेको उनले औँल्याएका थिए ।

नगरमा रहेका कृषक तथा पशुपालकले उत्पादन गरेको तरकारी बालीले बजारको ४० प्रतिशत भाग ओगट्न सफल भएकोमा खुसी व्यक्त गरेका पशुपालक कृषक सन्तोष राईले आलु र हरियो तरकारी बालीमा निर्भर रहनका लागि नगरमै शीत भण्डारको आवश्यकता रहेको सुझाव दिए ।

अग्र्यानिक मलको सहज उपलब्धता, किसानलाई अनुदानबाट राहत दिनुपर्ने माग गर्दै उनले नगरबाट प्राप्त गड्यौले मलप्रतिको सहयोग पर्याप्त नभएको पनि सुनाए । उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्दै लैजानुपर्ने बताएका उनले कृषि उपज केन्द्रको टड्कारो आवश्यकता पनि औँल्याए ।

अर्जुनधारा ११ का माछा किसान डम्बर चौधरीले माछाका भूरा समयमै उपलब्ध नहुँदा मत्स्त पालनमा लागेका कृषक पीडित बनेको बताए ।
माछामा आत्मनिर्भर बन्न नसकिरहेको अवस्थालाई मध्यनजर गरेर नगरपालिकाले लगानी गर्नुपर्ने बताएका उनले बजार मूल्य हुँदा हुँदै पनि समयमा माछाका भूरा, कुखुराका चल्ला र दाना गणस्तरीय नहुँदा आयातित उत्पादनमा भरपर्नु पर्ने बाध्यता रहेको सुनाए ।

सरोकारवाला व्यक्तिबाट आएकंो सुझाव संकलन गरेर आगामी आर्थिक वर्ष २०७६र७७ को योजनामा समावेश गरिने कृषि विकास शाखाकी प्राविधिक मीना अधिकारीले बताइन् ।

नगर कृषि विकास शाखाले पहिचान गरेका योजना कृषक समूहबाट आएकाले आगामी वर्षमा कृषकका लागि थप योजना सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

कृषि आर्थिक विकास समितिकी संयोजक दिलमाया दासको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा सहजीकरण गर्दै पशु विकास अधिकृत पदमलाल राईले ८२ प्रतिशत कृषिमा आधारित नगरमा कृषिलाई आधुनिकीकरण र औधोगिकरण गर्न आवश्यक रहेको बताए ।

कृषि र पशु कृषकको उत्पादनलाई रोजगारमुखी बनाउनुपर्नेमा जोड दिएका उनले परम्परागत खेती र पशुपालनका कारण सोचेजति नगरमा विकास गर्न नसकिएको बताए । पशुपक्षी तथा मत्स्यपालनबारे कार्यपत्र प्रस्तुत गरेका पशु विकास अधिकृत राईले नगरको नीति, कृषकको व्यवहारिक र सैद्धान्तिक पक्षबारे प्रस्तुतिमा समेटेका थिए ।