फिदिम । मिक्लाजु ३ आरुबोटेमा भएको विभत्स हत्या काण्डमा परेका दुई परिवारका तस्वीर सार्वजनिक भएको छ ।
घटनामा परी ज्यान गुमाउनेमा पाँच जना साना बालबालिका रहेका छन् । दुई दम्पत्ति सासु ससुरा र छोरी ज्वाइँ रहेका छन् । ज्वाइँ धनराज शेर्माको दुई साना नानी र उनकी श्रीमती पनि छन् । त्यस्तै, बमबहादुर फियाककी श्रीमतीको पनि सोमबार राति नै हत्या भएको थियो ।
आक्रमणबाट भाग्न सफल भएकी १२ वर्षीया सीता खजुमले आफूलाई पनि मकैबारीमा खुकुरी लिएर खेदाएको बताएकी छन् । घटनास्थलमा प्रहरी तैनाथ रहेको छ । घटनास्थलको करिब ७ किलोमिटर दूरीमा मानबहादुर माखिम झुण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीले विभत्स हत्यामा आशंका गरिरहेका व्यक्ति मानबहादुर बमबहादुरका कान्छा ज्वाइँ भएको पनि प्रहरीले पुष्टि गरिसकेको छ । अहिले तालिमप्राप्त कुकुर र प्रहरीको विशेषज्ञ टोलीको पर्खाइमा घटनास्थलमा स्थानीय रहेका छन् ।
हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
घटनापछि पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सय बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । हत्याको पछाडि पारिवारीक कारण हुनसक्ने आशंका गरिएको छ ।