झापा । चलचित्र निर्माण तथा निर्देशक अशोक शर्मा कलाकारको जम्बो टोलीका साथ झापाको अर्जुनधाराधाम पुगेका छन् । चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीतलाई रिमेक गर्दै चलचित्र ‘रातो टिका निधारमा’ को घोषणा गरेसँगै छायांकनका लागि शर्मा झापा आएका हुन्।

चलचित्रलाई फरक रुपमा ढाल्न अब्बल मानिएका निर्देशक शर्माले दसैं लक्षित गर्दै ल्याउन लागेको उक्त चलचित्रको ८० प्रतिशत छायांकन झापामा गर्ने तयारी स्वरुप चलचित्रमा समाबेस सबै कलाकारलाई लिएर झापा आएको शर्माले बताए। पुनः रेकर्ड गरिएको गीत ‘रातो टिका निधारमा’मा प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन्।

छायांकन पूर्व बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले चलचित्रको छायाङ्कन ४० दिनमा सक्ने र दसैंमा रिलिज गर्ने बताएको छ। शुक्रबारदेखि पूर्वको पशुपतिनाथका रुपमा परिचित धार्मिकस्थल अर्जुनधारा जलेश्वरधामबाट चलचित्रको छायांकन सुरु गरिएको छ।

अशोक शर्माको निर्माण तथा निर्देशनमा बन्ने महिला केन्द्रित कमेडी चलचित्रको १० प्रतिशत छायांकन काठमाडौ र बाँकी १० प्रतिशत झापा र काठमाडौंमा गरिने निर्देशक शर्माले बताए। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। शम्भुजित बास्कोटा र कल्याण सिंहको यसमा संगीत छ।

यो चलचित्रबाट निर्देशक शर्माका छोरा अंकित शर्माले चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यू गर्दैछन्। उनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन सेयर गर्ने अंकितका बुबा तथा निर्देशक शर्माले बताए।

उनले भने, ‘अंकितको जन्म नै फिल्मी वातावरणमा भएको थियो। यसैले, जानेको, बुझेको, पढेको सबै कुरालाई मिलाएर उत्कृष्ट काम गर्नेछ भन्ने मेरो विश्वास छ।’

चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको गाउँले भूमिका हुनेछ। ‘चलचित्रले दसैंको झल्को समेत दिने भएकाले छायांकनका क्रममा दसैंको माहोल बनाउन समेत केहि चुनौती छ, तर आफ्नै गाउँ र जन्मेको ठाउँ भएकाले छायांकन गर्न सहज होला भन्ने मेरो विश्वास छ’, शर्माले भने।

निर्माता निर्देशक शर्माले चलचित्रको कथा भने अहिले नखुलाउने बताउँदै भने, ‘दसैंको टिका कथाको सानो रुप हो, सबै कथा चलचित्रबाट एकैपटक दर्शक सामु खोल्छु।’ चलचित्रमा कम्तिमा २ करोड रुपैयाँ लगानी हुने उनले बताए।

चलचित्रमा नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल, अर्जुन श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहनेछ।यसअघि चलचित्र ‘जय भोले’ निर्देशन गरेका शर्माले यसपटक आफ्नो छोराको समेत डेब्यू रहेकाले यस चलचित्रमा सबैको अझैं धेरै साथ चाहिएको बताए।’