खोटाङ । माझकिरातका नामले परिचित खोटाङमा आयोजना हुन लागेको राष्ट्रियस्तरको साकेला सिली प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ पाउने भएको छ ।

किरात राई समुदायको घनाबस्ती रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा यही १३ र १४ गते हुने ऐतिहासिक प्रतियोगिताको तयारी पनि पूरा भएको छ । जिल्ला र जिल्लाबाहिरबाट गरी २३ समूहले सहभागिता जनाउने पक्का भएको आयोजकले जनाएको छ ।

साकेला सिली प्रतियोगिताको दोस्रो हुने समूहले नगद ७५ हजार पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार जिल्ला बाहिरबाट आउने समूहले कुने पनि उपाधि जित्न नसके यातायात खर्चवापत १० १० हजार प्रदान गरिने भएको छ ।

यसैबीच, किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाले आयोजना गरेको साकेला सिली प्रतियोगिताका लागि आर्थिक तथा भौतिक ब्यवस्थापकीय तयारी पूरा गरिएको संयोजक सिताराम राईले बताउनुभयो । प्रतियोगिताको सहभागी समुह तथा साँस्कृतिक कलाकार टोली ब्यवस्थापन, मञ्च ब्यवस्थापन, समय ब्यवस्थापन, स्वयमसेवक ब्यवस्थापन लगायतका तयारी गरिएकोे संयोजक राईको भनाई छ ।

दोर्पा चिउरीडाँडामा आयोजना हुने प्रतियोगितमा उदयपुरको दुई समुह, भोजपुर तथा मोरङका एक–एक समुहले सहभागिता जनाउनेछन् ।
किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको आयोजकको भनई छ । बिजेतालाई मुर्तिकार रोजन राईले निर्माण गर्नुभएको बिशेष प्रकारको वावु (चिण्डो) समेत प्रदान गरिने जनाईएको छ । टाढाबाट सहभागी बनेका समुहलाई खाना तथा बासको समेत आयोजकले ब्यवस्था गरेको छ ।

कार्यक्रमलाई भब्यता दिलाउन वरिष्ठ गायक तथा संगीतकार जीतेन राई लगायतको राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति समेत राखिएको संयोजक सिताराम राईले जनाउनुभयो । कार्यक्रममा पछिल्ले समय चर्चित उमेश राई (फुलन्देको आमा), गायक रेवत राई, गायक तथा संगीतकार पदम थुलुङ राई लगायतका कलाकारहरुको प्रस्तुति रहने किरात राई यायोक्खा प्रारम्भिक समिति दोर्पा चिउरीडाडाँले जनाएको छ ।