गिरीराज बाँस्कोटा,
पाँचथर । पछिल्ला दुई निर्मम हत्याका घटनाले यहाँको जनजीवन त्रसित बन्दै गएको छ। चोक, बस्तीहरुमा, विद्यालय लगायतका सार्वजनिक ठाँउदेखि घरहरुमा सुरक्षा चिन्ता व्यक्त गएिको देखिन्छ। जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरु अझै बढी त्रसित भएको सुनाउँछन्। बालबालिका र वृद्धवृद्धा बढी नै त्रसित बनेका छन्।
जिल्लाको मिक्लाजुङ–४ आरुबोटेमा दुई घरमा नौ जनाको हत्या तथा हिलिहाङ गाँउपालिका–४ को पञ्चमीमा बैशाख अन्तिम साता किशोरीको घाँटी रेटेर भएको निर्मम हत्यापछि सो क्षेत्रका बासिन्दाहरु सामान्य जनजीवनमा फर्किन सकेका छैनन्। दुबै घटना विभत्स किसिमबाट भएका थिए।
हत्या लगायतका अपराधिक घटनाको कारण त्रासदी उत्पन्न भइरहेको हो। हत्यासँगै नुनमा सिसा मिसाउने, सामुहिक बलात्कार, बालिक बलात्कार लगायतका घटना क्रममले असुरक्षित महसुस भएको विभिन्न ठाँउका बासिन्दाहरु बताउँछन्।
‘साँझ पर्दै ढोका थुनेर बस्न थालेका छन्। सबैले त्रासको मात्र कुरा गर्छन्। काममा मन जान सकिरहको छैन’, आरुबोटेका जिवन फियाकले भने, ‘निर्मम हत्यापछिको कारुणिक दृष्य देखेका तथा सुनेकाहरु त्रसित छन्। घरमै असुरक्षित हुने भयले यहाँका बासिन्दालाई थिच्न थालेको छ।’
घटना भएका क्षेत्रमा निक्कै ठुलो त्रास छ भने जिल्लाका अन्य क्षेत्रका बासिन्दा पनि असुरक्षित महसुस गर्दैछन्। किशोरीको हत्या भएको पञ्चमीमा त्यो बाटो मान्छेहरु नै हिँड्न छाडेको स्थानीय सिद्धदेवी माविका प्रध्यानाध्यपक भगिश्वर योङहाङले बताए। ‘हत्यामा संलग्न एक जना पक्राउ नपरेकाले फेरि आएर अपराध गर्ने हो कि भन्ने चिन्ता गाँउमा छाएको छ। साना नानीदेखि ठुलाहरु पनि चिन्तित छन्। विभिन्न किसिमका हल्लाले गाउँ त्रसित छ’, योङहाङले भने।
मिक्लाजुङ क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन भए पनि मनभित्र कता कता डर देखिरहेको यहाँका बासिन्दाहरु बताउँछन्। यता हिलिहाङका बासिन्दाले किशोरीको हत्यापछि त्रास फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। हत्यामा संलग्नलाई पक्राउ, सुरक्षाको प्रत्याभुति, प्रहरी चौकीको माग गर्दै यहाँका बासिन्दाले ज्ञापनपत्र बुझाएका हुन। अनेकन किसिमका हल्लाहरु फैलिएका छन्।
‘यसको असर बालबालिकामा बढी पर्ने देखिन्छ’, मनवअधिकारकर्मी प्रेम ओझा भन्छन्, ‘विभत्स हत्याको खबरले स्वभाविकरुपमा मान्छे भावुक बन्छ। यहाँ त त्रास नै उत्पन्न भएको छ। एकै ठाउँ नौ जनाको हत्या हुन चानचुने अपराध होइन। किशोरीको हत्याले त्रास दिएको आरुबोटेको घटनाले थप सशंकित बनाएको देखिन्छ। यस्ता घटनाले असुरक्षित महसुस गर्दै बसाई सर्ने क्रम पनि बढ्न सक्छ।’
अनेकन किसिमका आशंकाले थप त्रास दिएको पाईन्छ। जिल्ला बाहिर तथा देश बाहिर रहेकाहरुले फोन गर्दै घटनाबारे अनेकन आशंका तथा खोजीनीति गर्दै सुरक्षा चिन्ता जनाएको देखिन्छ। राति निन्द्रा नलाग्ने, मृतकहरुको अनुहार आँखामा आइरहने, काम गर्न मन नजाने अवस्था रहेको आरुबोटे बजारकी कुमारी माङलाकले बताइन्।
वैशाख महिना र यो अवधिसम्ममा भएको अपराध, दुर्घटना तथा भवितव्यका घटनाहरु बढी हँदा पनि चिन्तामा बढोत्तरी भएको हो। जिल्ला बाहिरबाट जागिर तथा अन्य शिललिशमा आएकाहरु पनि चिन्ता व्यक्त गर्न थालेका छन्। ‘आफन्त तथा साथीभाइहरुले चिन्ता व्यक्त गर्छन्। उनीहरुले कुरा गरेपछि थप डर बढ्दैछ। राति निन्द्रै लाग्दैन’, एक स्वास्थ्यकर्मीले भनिन्।
नौँ जनाको हत्या हुने प्रकृतिको घटनाले आम नागरिकमा त्रास देखिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँर पनि स्वीकार्छन्। ‘घटनाहरुको अनुसन्धाले दोषी तथा कारणहरु पत्ता लागे पनि केही सहजता हुनेछ। यो बेला समाजका अगुवाहरुले सामान्यकरण गर्न पहल गर्नुपर्छ। सुरक्षा व्यवस्था हामी मिलाउछौँ’, उनले भने।
बढ्दै अपराधको ग्राफ
पछिल्लो दिनहरुमा जिल्लामा अपराधको ग्राफ बढ्दै गएको छ। चालु आर्थिक वर्षको हालसम्ममा १३ जनाको हत्या भएको तथ्यांक जिल्ला प्रहरी कार्यालयसँग छ। गतवर्ष जिल्लामा ५ जनाको हत्या भएको तथ्यांक प्रहरीसँग छ। यो वर्ष ४ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन्। प्रहरीसँगको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको हालसम्ममा १३ बलात्कार र ११ बलात्कार प्रयासका घटना भएको देखिन्छ।
यो अवधिमा १६ वटा बेवारिसे शव, २१ वटा भबितव्य र २४ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ। पारिवारिक किचलो, सामान्य विवादमै हत्यासम्मको अपराध हुने गरेको अनुसन्धान अधिकृतहरु बताँउछन्। अत्याधिक मादपदार्थ सेवन, प्रतिशोध र आवेगका कारण बढी अपराधिक घटना हुने गरेको उनीहरुको बुझाई छ।
अझै पक्राउ परेनन् किशोरीका हत्यामा संलग्न
वैशाखको अन्तिम साता हिलिहाङ–४ पञ्चमीमा १५ वर्षिया किशोरी शितल योङहाङको हत्यामा संलग्न भएको भनिएका फाल्गुनन्द-३ का पदम तामाङलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। हत्यामा संलग्न भएका भनिएका भगिरथ बाँस्तोलालाई घटना भएको भोलिपल्ट फिदिमबाट पक्राउ गरे पनि हत्या योजनाकार मानिएका तामाङलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।
११ दिन बितिसक्दा पनि तामाङलाई प्रहरीले पक्राउ गर्न नसकेको हो। किशोरीको घाँटी रेटी निर्मम हत्या भएको थियो। दोषीलाई प्रक्राउ गरी कारबाहीको माग गर्दै विभिन्न चरणमा दबावका कार्यक्रमहरु समेत भएका छन्।
शितलका प्रेमी रहेका भनिएका तामाङले किन हत्याको योजना बनाए भन्ने खुल्न सकेको छैन। केही दिन किशोरीको गाँउमा नै बसेर हत्या गर्ने योजना बनाइएको देखिएको प्रहरीले जानएको छ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार केही दिन जंगलमा नै बसेका थिए। सोही बेला केटा साथीसँग फोन साटेका थिए। मान्छे नबस्ने घरमा बोलाएर हत्या गरिएको थियो। बास्तोलाले योङहाङलाई समातेको र तामाङले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
बाँस्तोलालाई फिदिमको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको थियो। तीन दिनदेखि दुई जना कात्तिके भन्ने ठाँउमा माक्स लगाएर हिँडिरहेको स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पहिचान गरेको थियो ।
विद्यालय आउने क्रम घट्यो
आफ्नै साथीको हत्या भएको थाहा पाएपछि आरुबोटे र पञ्चमी दुबै स्थानका विद्यालयमा विद्यार्थी आउने क्रम घट्दै गएको छ। विद्यार्थी कम विद्यालय आउने, आएकाहरु पनि पढाईमा ध्यान नदिने, त्रसित जस्तो देखिने गरेको शिक्षकहरुले बताए। हत्या काण्डको असर साना नानीहरुमा बढी देखिएको छ। यसको प्रभाव दीर्घकालसम्म पर्ने खतरा रहेको अधिकारकर्मी ओझा बताउँछन्।
सोमबार रातिको हत्या काण्डपछि मिक्लाजुङको आरुबोटे मावि सञ्चालन आउन सकेको छैन। धेरै विद्यार्थी र राम्रो नतिजा निकालिरहेको उक्त विद्यालयका विद्यार्थीहरु त्रसित देखिन्छन्। विद्यालयमा विद्यार्थी अत्यन्त कममात्र आउने गरेको विद्यालयका प्रध्यानाध्यपक भविन्द्र राईले बताए।
‘शुक्रबार श्रद्धान्जलि कार्यक्रम राखेका थियौँ। आएका विद्यार्थीले रुवाबासी मच्चाए। घट्ना आफैँमा हृदयविदारक छ।यसको असर विद्यार्थीमा ठुलो पर्यो’, राईले भने, ‘अभिभावकहरु नै त्रसित छन्। कलिलो दिमागमा निकै असर परेको अनुभव हुदैछ।’
उक्त विद्यालयमा पढ्ने तीन जनाको हत्या भएको थियो। यस्तै आरुबोटेकै एजुकेशनल इङलिस स्कुलमा पढ्ने एक विद्यार्थीको हत्या भएको थियो। आफूसँगै पढ्ने साथीको हत्या भएपछि डरमात्र लाग्ने गरेको आरुबोटे माविका कक्षा–१० का विद्यार्थी विवेक फियाकले बताए।
यता पञ्चमीको सिद्धदेवीमा कक्षा–१० मा अध्ययन गर्ने किशोरीको हत्या भएपछि यहाँका विद्यार्थी पनि उत्तिकै त्रसित छन्। हत्या नपक्रेकोले फेरि गाउँमा आउने हो कि भन्ने किसिमका डर फैलिएको देखिन्छ। ‘विद्यार्थी आउने क्रम घट्यो। पढ्नेतर्फ ध्यान जान सकेको देखिदैन। खाली डरका कुराहरु छन्’, प्रध्यानाध्यपक भगिश्वर योङहाङले भने, ‘विद्यार्थीहरुलाई सामान्यकरण गर्न निक्कै गाह्रो हुने देखिएको छ।’
प्रहरी चौकी धेरै टाढा
पहाडी भुगोल तथा सडक सुविधाका कारण घटना हुँदा फिदिम बजार क्षेत्र र प्रहरी चौकी आसपासका ठाउँ बाहेकमा घटना हुँदा प्रहरीले तत्काल ‘रेस्पोन्स’ गर्न सक्ने अवस्था छैन।
‘बस्तीहरुभन्दा टाढा–टाढा रहेका छन्। ‘पहाडको भुगोल, जनशक्ति लगायतका कारण चौकीहभन्दा बस्तीहरु निक्कै टाढा छन्’, डिएसपी कुवरले भने, ‘प्रहरीले चाहेजति छिटो जनताको घरमा पुग्न सकिरहेको छैन।’ जिल्लामा २९ वटा प्रहरी युनिट छन्।
यि युनिटहरुलाई सबै क्षेत्र समेट्न कठिन हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय, ६ इलाका प्रहरी कार्यालय, १६ प्रहरी चौकी र ६ अस्थायी प्रहरी चौकी रहेका छन्। पहाडमा बस्ती पातला हुँदा समेत समस्या हुने गरेको पाइन्छ। निक्कै ठुलो क्षेत्र चौकीहरुले हेर्नु पर्ने अवस्था छ।
२६ वर्ष अगाडि टिम्बुरे हत्या काण्ड
२६ वर्षअघि जिल्लाको फिदिम नगरपालिका–१३ लुङरुपमाको टिम्मुरेमा एकै घरका पाँच जनाको हत्या भएको थियो। ‘टिम्बुरे हत्या काण्ड’’को रुपमा चर्चित उक्त घटना २०५० बैशाखमा भएको थियो।
समान्य विवादका कारण पाँच जनाको हत्या भएको खुल्न आएको थियो। उक्त हत्या काण्डमा कुवेर दुलाल, उनकी श्रमती सरस्वती, छोरी कृष्ण, छोराहरु उमेश र उद्धवको विभत्स हत्या भएको थियो। घरमा नरहेका दुई जना छोरीहरुमात्र त्यो बेला बचेका थिए। उक्त घटनामा सलग्न भएकाहरु जेल सजाय भुक्तान गरिसकेका छन्।
प्रहरी अनुसन्धान जारी
मिक्लाजुङ हत्या काण्डको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। केन्द्रीय अनुसन्धान व्यूरो, १ नम्बर प्रदेशको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमा जुटिरहेको छ। अनुसन्धाका लागि ठुलो जनशक्ति परिचालन भएको छ। हत्यामा हालसम्मको अध्ययनले मानबहादुर माखिमको संलग्नता रहेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन्।
उनी एक्लैले हत्या गरे कि अरु पनि थिए भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। पोष्टमार्टमा रिपोर्ट आउन बाँकी छ। फरेन्सी टेष्टका विभिन्न कामहरु हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आजको नागरिक न्यूजमा खबर छ ।