काठमाडौं- पल्सर स्पोर्ट्स अवार्ड २०७५ असारको तेस्रा साता आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्डको १५ औं संस्करण असार १७ गते आयोजना गर्ने आइतबार एक कार्यक्रमका बिच मञ्चले जनाएको हो ।
सोही दिन अर्थात् जुलाई २ तारिक अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवस पनि हो । अवार्ड विभिन्न ९ विधामा दिइँदै आएको छ । अवार्ड आयोजनाका लागि अध्यक्ष देवेन्द्र सुवेदी संयोजक, महासचिव प्रज्वल ओली सदस्य सचिव तथा मञ्चका सबै सदस्य सदस्य रहने गरी मुल समारोह समिति गठन गरिएको मञ्चले जनाएको छ ।
कार्यक्रममा कार्यक्रमको मुख्य प्रायोजक पल्सर मोटरसाइकलसँग सम्झौताबारे पनि जानकारी दिइयो । यसपटक पल्सरले २८ लाख ५० हजार रुपैयाँ बराबर नगद र जिन्सी प्रायोजन गर्नेछ ।
पल्सरको आधिकारिक विक्रेता हंसराज हुलासचन्दका निर्देशक अभिमन्यु गोल्छाले खेल र खेलकर्मीलाई प्रोत्साहन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बारे चर्चा गरे ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड, पारा एथलेट अवार्ड र लाइभ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि ५-५ जनाको मनोनयन सार्वजनिक गर्ने परम्परा छ । यसपटक स्पेशल अवार्डमा मनोनयन गर्ने र नयाँ विधाका रुपमा अन्तर्राष्ट्रिय एसियन पत्रकार अवार्ड पनि प्रदान गरिनेछ ।
हंसराज हुलाश चन्द एण्ड कम्पनीले प्रायोजनमा ४ वटा पल्सर मोटसाइकल पनि समावेश छ। स्पोर्ट्स अवार्डमा उत्कृष्ट हुने पुरुष, महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले मोटरसाइकल पाउनेछन्।
बाँकी तीन अवार्डका विजेता कार्यक्रमकै दिन सार्वजनिक गर्ने प्रचलन छ । खेलाडी छनोटका लागि मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ ।
२०५४ सालमा बर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई सम्मान गरेर सुरु भएको एनएसजेएफ स्पोर्टस नेपाली खेलकुदको प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ ।
२०६० यता निरन्तरत आयोजना भएको अवार्ड २०७२ वैशाख १२ को भूकम्पका कारण एक वर्ष भने स्थगित गरेको थियो । अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा समेत एआइपीएस एसियाले समेत बार्षिक कार्यक्रमको रुपमा समावेश गरेको छ ।