मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर ६ अन्तर्गत दोस्रो वडाध्यक्ष कप अन्तर माविस्तरीय खेलकुद प्रतियोगितातर्फ फुटवलबको उपाधि अरुणोदय माध्यमिक विद्यलायले जितेको छ ।
प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी नर्थ प्वाइन्ट माविलाई २-१ गोल अन्तरले पराजित गर्दै अरुणोदयले उपाधि जितेको हो । जीतसँगै अरुणोदयले नगद १० हजार तथा उपविजेता नर्थ प्वाइन्टले नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
काँकरभिट्टा माविको खेलमैदनमा भएको खेलमा अरुणोदयका लागि खेलको २१औँ मिनेटमा कुमार मगर र ३५औँ मिनेटमा सञ्जीव सरदारले गोल गरेका थिए भने नर्थ प्वाइन्टका लागि एकमात्र सान्त्वना गोल सन्तोष मोतेले खेलको २३औँ मिनेटमा गरेका थिए । खेलको म्यान अफ दी म्याच नर्थ प्वाइन्टका उज्व्वल कार्की घोषित भए । उनले नगद ५ सय रुपैयाँसहित ट्रफी हात पारेका थिए ।
यसैगरी उदयीमान खेलाडी सम्मी सुब्बा तारापुञ्ज मावि, वेष्ट डिफेन्डर सोहन सुब्बा अरुणोदय मावि, वेष्ट मिल्डफिल्डर किसन सरदार अरुणोदय मावि, वेष्ट फरवार्ड सन्तोष मोते नर्थ प्वाइन्ट मावि, वेष्ट गोलकिप्पर असिम तिम्सिना अरुणोदय मावि, वेष्ट कोच लाक्पा तामाङ अरुणोदय मावि घोषित भए ।
प्रतियोगिताका विजेता तथा उपविजेतासहित विभिन्न विधाका खेलाडीहरुलाई मेचीनगर वडानम्बर ६ का नगर सदस्य देवीप्रसाद सुवेदी, मेचीनगर नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेती, मेचीनगर खेलकुद विकास समितिका सदस्य मीनबहादुर बस्नेत, काँकरभिट्टा माविका प्रधानध्यापक तुलसीप्रसाद निरौला, अरुणोदय मावि प्रधानध्यापक दुर्गाबहादुर लुईटेल, तारापुञ्ज माविका प्रकाश दाहाल, गंगा मेमोरियल माविका केशरप्रसाद तिम्सिना, करातेका प्रशिक्षक तिलक तामाङ, क्रिकेटका प्रशिक्षक वीरु श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
यसैगरी कार्यक्रममा कराते तथा क्रिकेट प्रतियोगिताका विजेता तथा उपविजेता टिमसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको थियो । मेचीनगर नगरपालिका वडानम्बर—६ ले आयोजना गरेको प्रतियोगितामा फुटबल, क्रिकेट र कराते तीन विधाका खेललाई समेटिएको थियो ।
कराते तथा फुटबल काँकरभिट्टा माविको खेल मैदानमा र तुर्केनी खेल मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी विद्यालयले सहभागिता जनाएका थिए ।