झापा । मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगरस्तरीय खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गरी जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको जनाएको छ ।

नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन बरालले महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिबल, कवड्डी, एथलेटिक्स तथा मार्सलआर्टको खेल सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा नगरभित्र रहेका निजी तथा सामुदायिक विद्यालयबीच खेलमा प्रतिस्पर्धा हुने समितिका सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासमेत हुन लागेकाले महोत्सवबाट धेरै विधाका खेलहरु नगरभित्रका विद्यालयबीच प्रतिस्पर्धा गराएर नगरस्तरीय टिम छनौट गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइनेछ ।

नगर महोत्सवबाट नै सवै विधाका खेलका उत्कृष्ट खेलाडी छनौट गरी नगरस्तरीय टिम निर्माण गर्ने अध्यक्ष बरालले जानकारी दिए । महोत्सवमा १५ वटा सामुदायिक तथा ३६ वटा निजी गरी कुल ५१ वटा विद्यालयका करिब १ हजार ५ सय खेलाडीको सहभागिता हुने सदस्य मीनबहादुर बस्नेतले बताए ।

महोत्सवलाई सफल र सभ्य एवम् भव्यरुपमा सम्पन्न गर्न नगरका १५ वटै वडामा वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय खेलकुद समिति गठन गरिएको तथा प्रत्येक खेलको ११ सदस्यीय विषयगत नगर खेलकुद समिति गठन गर्दै खेलकुदको माध्यमबाट मेचीनगरलाई उत्कृष्टताको परिचय दिने काममा समेत समिति सक्रिय रहेको सचिव वस्तीले बताए ।

करिब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सव सम्पन्न गर्न झापा जिल्ला खेलकुद विकास समिति, झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ । १५ गते मेचीनगर—१३ स्थित चारआलीबाट म्याराथन प्रतियोगिताको उद्घाटनबाट सुरु महोत्सव २३ गते मेचीनगर—१० धुलाबारी माविको खेलमैदानमा समापन हुनेछ ।

नगरपालिकाले तोकेको बजेटको सीमाभित्र रहेर खेलकुद सञ्चालन गर्ने, विभिन्न विधाका प्रतिस्पर्धातमक खेल आयोजना गर्ने, अन्य पालिकाले आयोजना गरेको खेलकुद कार्यक्रममा आमन्त्रण गरिएमा मेचीनगर नगर क्षेत्रभित्रका खेलाडी टिम वा क्लबलाई आवश्यकता र औचित्यताका आधारमा सहभागी गराउने, निजी क्षेत्रलाई समेत खेलकुदमा सहभागी र सझेदार बनाउने, नगरपालिकाको संयोजनमा विभिन्न विधाका खेलाडीहरुको पहिचान र प्रोत्साहनसम्बन्धी योजना बनाएर स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्नेलगायतका काम, कर्तव्य अधिकार समितिको रहेको सचिव वस्तीले जानकारी दिए ।

यसैगरी, खेलकुद विकासका लागि संघीय तथा प्रदेश सरकारसँग समेत समन्वय गरी खेलकुद वार्षिक कार्ययोजना बनाएर स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने, नगरपालिकाबाट स्वीकृत खेलकुद कार्यक्रम सञ्चालन गर्ने पनि वस्तीले बताए ।