काठमाडौं । उपराष्ट्रपति कप महिला लिग फुटबल प्रतियोगिता आगामी भदौमा हुने भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले परिमार्जन गरी उपराष्ट्रपति कप महिला लिग फुटबल प्रतियोगिता गर्ने भएको हो । यसअघि एक सातामा सकिँदै आएको लिगलाई एन्फाले परिमार्जन गरी ६ महिनासम्म सञ्चालन गर्ने जानकारी दिएको छ ।
भदौ २० गतेबाट सुरू हुने लिग माघ अन्तिममा सकिने छ । ७ प्रदेश र तीन विभागीय टोली गरी लिगमा १० टोली सहभागी हुनेछन् । लिग डबल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । पुरुष लिग महिनौ चल्दा महिला लिग एक सातामा सकिने भन्दै एन्फाको आलोचना भएको थियो ।
एन्फाले अहिले महिला लिगलाई व्यवस्थित गर्नेगरी ६ महिनाभरी सञ्चालन गर्ने योजना बनाएको हो ।