झापा । बिर्तामोडको ग्यालेक्सी फिटनेसले प्रदेश नं. १ स्तरीय दोस्रो मिस्टर ग्यालेक्सी शारिरिक सुगठन प्रतियोगिता गर्ने भएको छ ।

फिटनेसले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी भदौ २० र २१ गते बिर्तामोडमा प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको हो ।

५५, ६०, ६५, ७० र ७५ केजी तौल समुहका खेलाडी बीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए । ‘१४ जिल्लाबाट ७० देखि ८० खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्’, उनले भने ‘झापाबाट मात्र ३५ देखि ४० जना खेलाडी सहभागी हुन्छन् ।’

प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख ८० हजार अनुमानित खर्च हुने आयोजकले जानकारी दिएको छ । प्रत्येक तौल समुहका दोस्रो र तेस्रो हुने खेलाडीले नगद ५ हजार र ३ हजार पुरस्कार पाउनेछन् । प्रत्येक तौल समुहका विजेतालाई ओभरअल फाइनल राउण्डमा प्रतिस्पर्धा गराइने आयोजक समितिका सहसचिव आशिमज्वेल श्रेष्ठले बताए ।

ओभरअल च्याम्पियन बन्ने विजेता खेलाडीलाई नगद एक लाख र विभिन्न उपहारसहित सम्मान गरिने ग्यालेक्सी फिटनेसका सञ्चालक तथा आयोजकका कोषाध्यक्ष चन्द्र लाफाले बताए ।

त्यसैगरी ओभरअल च्याम्पियनतर्फ दोस्रो हुने खेलाडीलाई नगद ५० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई ३० हजार र पाँचौ हुने खेलाडीले नगद २० हजार प्राप्त गर्ने आयोजक समितिका सचिव केशव श्रेष्ठले जानकारी दिए । त्यसैगरी वेष्ट पोजरले १० हजार नगद, मोस्ट मस्क्यूलरले १० नगद प्राप्त गर्ने फिटनेसका संरक्षक संदीप शेर्माले बताए ।

ग्यालेक्सी फिटनेसले दक्ष खेलाडीहरु उत्पादन गरी राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरसम्म पुर्याउन सफल भएको आयोजक समितिका कोषाध्यक्ष लाफाले बताए । उनले राम दाहाल, उमेश राई, ललित धिमाल, सुमन लिम्बू, प्रकाशचन्द्र चौधरी, चन्द्र लिम्बू जस्ता ओभरअल च्याम्पियन बन्दै पदक हासिल गरी देश विदेशमा झापा जिल्लालाई चिनाउन सफल भएको पनि बताए ।

प्रतियोगिता सफल पार्नका लागि युवा व्यवसायी सरोज दाहालले ४० हजार, रोहित गजमेरले ३० हजार, साँडे सेकुवा कर्नर शनिश्चरेका तर्फबाट पदम सुब्बा र बिन्दू राईले २० हजार, रेखा बाँस्तोलाले २० हजारले आर्थिक सहयोग गरेका छन् ।

उनीहरुले कार्यक्रममै अध्यक्ष वनलाई चेक हस्तान्तरण गरेका थिए । उनीहरु आयोजकका सदस्य पनि हुन् । कार्यक्रममा सल्लाहकार रमेश समदर्शी राईले कार्यक्रमको विषयमा जानकारी दिएका थिए । तस्वीर: तिलक योञ्जन