बिर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तरवडा खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गते सुरु भएको खेलकुद अन्तरगत भएका फुटबल, कराते तथा म्याराथन दौडका विजेता टिम तथा खेलाडीलाई एक समारोहका बीच पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो ।

स्थानीय डामोलाल राजवंशी रंगशालामा सम्पन्न प्रतियोगितामा सबै विधाका गरी झण्डै पाँच सय खेलाडीले सक्रिय सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिए ।

४ नम्बरलाई फुटबलको उपाधि
खेलकुदअन्तर्गत फुटबलतर्फको उपाधि वडा नं ४ ले जितेको छ । बुधबार भएको फाइनलमा वडा नं ७ लाई १–० ले पछि पार्दै वडा नं ४ ले प्रतियोगिताको पहिलो उपाधि उचालेको हो ।

उपाधि जितेसँगै वडा नं ४ ले ५० हजार नगदसहित शिल्ड प्राप्त गरेको छ भने वडा नं ७ ले ४० हजारमा चित्त बुझाएको छ । मध्यान्तरसम्मको खेल गोलरहित रहेकोमा मध्यान्तरपछि रमेश गुरुङले उत्कृष्ट गोल गर्दै वडा नं ४ लाई उपाधि दिलाए ।

वडा नं ४ का विशाल गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए भने वडा नं ५ का निशान्त खड्काले सर्वाधिक गोलकर्ताको ट्रफी हात पारे ।

कराते ५ नम्बर अब्बल
करातेतर्फ सबैभन्दा बढी मेडल वडा नं ५ ले हात पारेको छ । मंगलबार र बुधबार भएका खेलहरुबाट पदक तालिकामा वडा नं ५ पहिलो भएको आयोजक समितिका उपाध्यक्ष तथा कराते प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए । पदक तालिकामा दोस्रो स्थानमा वडा नं ४, तेस्रो स्थानमा वडा नं ३ र चौथो स्थानमा वडा नं १० रहेको निरौलाले बताए ।

दोस्रो दिन महिलातर्फ ३५ केजी तौल समूहमा वडा नं ५ की श्रृष्टी बुढाथोकी प्रथम भइन् भने वडा नं ३ की अलिसा हेमरम दोस्रो भइन् । ४० केजी तौल समूहमा महिलातर्फ वडा नं ५ की दिप्सा खरेल प्रथम भइन् भने वडा नं ३ की रितिका पाठक दोस्रो भइन् ।

४५ केजी तौल समूहमा अनिषा चौधरी प्रथम र डाइना केरुङ दोस्रो भइन् । ५० केजी तौलसमूहमा वडा नं १० की कुमारी श्रेष्ठ प्रथम र वडा नं ८ की सुनिता किष्कु दोस्रो भइन् ।

पुरुषतर्फ ४५ केजी तौल समूहमा वडा नं ५ का विशाल राई प्रथम र वडा नं ३ का सन्देश गुरुङ दोस्रो भए । ५० केजी तौल समूहमा ५ का रोशन श्रेष्ठ प्रथम र ४ का अमृत राजवंशी दोस्रो भए भने ५५ केजी तौल समूहमा वडा नं ५ का सानसाङ लिम्बू प्रथम र वडा नं ४ का विशाल साहा दोस्रो भएको आयोजकले जनाएको छ ।

म्याराथनमा मेघराज र सुनिता प्रथम
बुधबार बिहान भएको पुरुषतर्फको ५००० मिटरको म्याराथनमा वडा नं ७ का मेघराज राई प्रथम, ५ का आशिष बस्नेत दोस्रो, ४ का विष्णु महत तेस्रो, ३ का प्रमोद साहा चौथो र वडा नं ४ कै सुन लिङदेन पाँचौं भए ।

महिलातर्फको ३००० मिटर म्याराथनमा वडा नं ३ की सुनिता किष्कु प्रथम, १० की कुमारी श्रेष्ठ दोस्रो, १० कैनिशा हेमरम तेस्रो, ४ की सीता तिवारी चौथो र वडा नं ३ की रमिसा गौतम पाँचौं भएको आयोजक समितिका उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए । पुरुषतर्फको म्याराथनमा १२ वर्षीय बालक सुमन राजवंशीले खालीखुट्टा दौड पूरा गरेका थिए ।

मार्चपास र नृत्य
खेलकुदको समापनका अवसरमा विर्तामोड क्षेत्रका नवोदय शिक्षा सदन, कञ्चनजंघा इङलिश स्कूल, टावर टेम्पल इङलिश स्कूल, महेन्द्ररत्न माविलगायतका विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए भने विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।

पूर्व फुटबलरलाई सम्मान
झापाको फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै विर्तामोड नगर खेलकुद विकास समितिले विर्तामोड निवासी तिलक गुरुङ र रामदर्शन गुरुङलाई नगदसहित सम्मान गरेको छ ।

हालै बंगलादेशमा सम्पन्न प्रथम एशियन पेसापोलो प्रतियोगितामा नेपाली टोलीको प्रतिनिधित्व गर्दै दोस्रो स्थान हासिल गर्न सफल बिर्तामोड–८ का विद्यार्थी आरोग्य कँडेललाई पनि नगदसहित सम्मान गरेको छ ।

विजयी टिम तथा खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, झापा जिल्ला फुटबल संघकाअध्यक्ष भगिरथ आले, झापा ११ फुटबल टिमका अध्यक्ष जलकुमार गुरुङ, वडाध्यक्षहरुलगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजक समितिका अध्यक्ष टिका संग्रौलाको अध्यक्षतामा उपाध्यक्ष केशव भण्डारीले सञ्चालन र उपाध्यक्ष दुर्गाराज निरौलाले स्वागत गरेको समापन समारोहमा नगरप्रमुख शिवाकोटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमै बिर्तामोडलाई खेलकुदको माध्यमबाट परिचित गराउने गरी नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि योजना बनाउने बताए ।

वडा नं २ का अध्यक्ष नरेन्द्र संग्रौलाले विर्तामोडको सबै वडामा खेलकुदका एक–एकविधाको अब बनाउने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
जेठ ६ गते सुरु भएको प्रतियोगिता सफल बनाउन सबै पक्षको साथ–सहयोग रहेको भन्दै समितिका अध्यक्ष टिका संग्रौलाले स्थानीय डोमालाल रङ्गशालालाई नगरपालिका मातहतमा ल्याई पूर्वाधार विकास गर्न समिति लागिपर्ने बताए ।

उनले अब फुटबलको नगरस्तरीय टिम तयार गर्ने र सबै विधाका खेलाडी खेल्नेक्रममा घाइते भएमा उनीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न समितिले पहल गर्ने उल्लेख गरे । खेलकुदको उद्घाटन प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका थिए ।