फिदिम । पाँचथरको मिक्लाजुङ–३ आरुबोटे हत्या काण्डमा मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।

आरुबोटेमा जेठ ६ गते राति एकै परिवारका नौ जनाको सामूहिक हत्या भएको थियो । घटनापछि माखिम पनि झुन्डिएको अवस्थामा फेला परेका थिए ।

हत्याकाण्डमा प्रहरीका चार वटा टोलीले अनुसन्धान गरेका थिए । जसमा ३३ वर्षीय माखिमले हत्या गरेको निश्कर्ष निकालिएको छ । यससम्बन्धी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेशसभालाई जानकारी दिएका छन् ।

सांसदहरूले आरुबोटे काण्डको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेपछि आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बिहीबार प्रदेश सभामा अनुसन्धानको जानकारी दिएका हुन् । सामूहिक हत्या गर्ने माखिम बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको मन्त्री कार्कीले बताए । प्रहरी अनुसन्धानमा मानबहादुर नै हत्यारा भएको यथेष्ट प्रमाण पाइएको उनको भनाइ थियो ।

७५ वर्षीय बमबहादुरसँगै उनकी पत्नी ७५ वर्षीया पुर्चीमाया, छोरी ३५ वर्षीया मनकुमारी र नातिनी १० वर्षीया आसिकाको हत्या गरिएको थियो । त्यस्तै, बमबहादुरका जेठा ज्वाइँ ३४ वर्षीय धनराज सेर्मा, उनकी पत्नी ३५ वर्षीया जस्मिता, छोरी १२ वर्षीया युहाना, १० वर्षीया मुना र ६ वर्षीया इच्छाको हत्या गरिएको थियो । उनीहरूको हत्या गरेपछि मानबहादुरले झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानको निश्कर्ष छ ।

घटनाको संघीय प्रहरी एकाइ कार्यालय धरानका एसएपी शरद खत्री, अपराध अनुसन्धान ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदी, प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्युरोका इन्स्पेक्टर लेखनाथ दाहाल, प्रदेश प्रहरी प्रवक्ता सिद्धार्थ न्यौपाने र जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुँवरको टोलीले अनुसन्धान गरेका थिए ।

मानबहादुर मनोरोगी
मानबहादुर मनोरोगी रहेको प्रहरीले जनाएको छ । उनी वैदेशिक रोजगारमा गएका थिए । तर, पैसा कमाउन नसकेपछि निराश भएर फर्किएका थिए ।

झैँझगडा हुन थालेपछि उनकी पत्नी माइत गएर बस्न थालेकी थिइन् । उनीहरूबीच सम्बन्ध विच्छेदको मुद्दा पनि चलेको थियो । जुन अदालतमा जारी रहेको छ । उनले मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए ।