हिमाल खरेल,

झापा । कुनै पनि पुरातात्विक संरचनाको संरक्षण गर्नु आफैँमा राम्रो काम हो । तर, त्यसलाई तोडमोड गरेर आफ्नै तरिकामा नवनिर्माण गर्नु आपत्तिको विषय हो । यस्तै भएको छ, झापा नेपालकै एक एतिहासिक तथा पुरातात्विक संरचनाको ।

नेपालकै होचो स्थान झापाको कचनकवलमा रहेको स्तम्भको सट्टा नयाँ स्तम्भ बनाइने भएपछि एतिहासिक तथा पुरातात्विक संरचनाको अस्तित्व समाप्त हुने भएको हो । गाउँपालिका अध्यक्ष अन्जारा अलामले सो स्तम्भको ठाउँमा नयाँ कचनकवल स्तम्भको शिलान्यास गरेका छन्, जो आफैँमा गलत रहेको टिप्पणी हुन थालेको छ ।

एतिहासिक तथा पुरातात्विक संरचनाको जीर्णोद्वार गरिनुपर्नेमा नयाँ स्तम्भ निर्माणका लागि शिलन्यास भएपछि धेरैले त्यो कदमको विरोध गरेका छन् । स्तम्भ नजिकैको गाउँमा हुर्केबढेका लोकप्रिय गायक प्रमोद खरेलले सो क्षेत्रका सांसद राजेन्द्र लिङदेनको ट्विटलाई जवाफ दिँदै भनेका छन्, ‘यसको जीर्णोद्वार हुनुपर्छ, शिलन्यास हुँदै होइन । एतिहासिक तथा पुरातात्विक संरचनाहरु भत्किए पनि पहिला जस्तो थियो त्यस्तै बनाउनुपर्छ । र, पुरानै निर्माणकर्ताको नाम हुनुपर्छ, मान्छेपिच्छे शिलन्यास होइन ।’

लिङदेनले ट्विट गर्दै, ‘मुलुककै होचो भूभाग झापाको कचनकवलमा नयाँ स्तम्भ बन्दै’, भनेर एक अनलाइनको समाचारको शीर्षक साभार गरेका थिए ।

पुरातत्वविदहरुका अनुसार कुनै पनि एतिहासिक तथा पुरातात्विक संरचनाहरु जीर्ण बन्दै गए भने सोही स्थानमा असली रुपरङलाई तोडमोड नगरी जस्ताको त्यस्तै बनाउनुपर्छ । तर, कचनकवल स्तम्भमा त्यसो नगरेर नयाँ निर्माण गर्न लागिएपछि इतिहास समाप्त हुने भएको छ ।
समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको स्तम्भ २०४४ पुस १४ गते तत्कालीन राजा वीरेन्द्रले शिलन्यास गरेका थिए । तर, संरक्षण अभावमा स्तम्भ जीर्ण बन्दै गएको छ । स्तम्भ बनाउन प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सो क्षेत्रका प्रदेश सांसद वसन्त बानियाँको विशेष पहलमा समग्र कचनकवलको पर्यटन प्रवद्र्धनका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको हो । तर, स्थानीय नागरिकमाझ त्यसको श्रेय संघीय सांसद लिङदेनले लिने गरेको बताइन्छ । बानियाँले सो क्षेत्रका पर्यटकीय विकासका निम्ति गुरुयोजना बनाइएको बताए ।

‘मेरो पहल र चासोमा बजेट विनियोजन गरिएको हो’, बानियाँले भने, ‘तर, मलाई थाहै नदिई काम अघि बढेछ ।’ बानियाँले स्तम्भको नयाँ शिलन्यास गरिनु आपत्तिको विषय भएको बताए । साथै, ५० लाख रुपैयाँ स्तम्भका लागि मात्र नभई समग्र कचाकवलको पर्यटनमा टेवा पुर्याउन छुट्याइएको उनको भनाइ छ ।

होचो भूभागको संरक्षण र विकासका लागि सो गाउँपालिकाले २० करोड रुपैयाँको लागत अनुमानसहित ५ वर्षे गुरुयोजना बनाएको छ । तर, इतिहास नै नामेट हुनेगरी भौतिक संरचना बनाइनु गलत कार्य हो ।

कछुवाको आकृतिमाथि ठड्याइएको स्तम्भको भुइँ सतह पनि परिवर्तन गरिँदैछ । त्यसलाई परिवर्तन गरेर माछाको आकृतिमाथि स्तम्भ ठड्याइने गाउँपालिकाको योजना छ । कछुवाको ठाउँमा माछो राख्ने योजना र सल्लाह कसले दियो ? इतिहास मेटाउन खोज्ने गलत नियत कसको हो ? खोजीको विषय हो ।

तस्वीर : नयाँ पत्रिका