काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको विधा ‘पिपुल्स च्वाइस अवार्ड’को मनोनयन सार्वजनिक गरिएको छ ।

मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक शुगठनका महेश्वर महर्जन छनोट भएका छन् ।

वर्ष २०७५ सालमा उत्कृष्ट प्रदर्शनका साथ(साथै सञ्चारमाध्यम तथा समर्थकमाझ चर्चामा रहेका उत्कृष्ट पाँच खेलाडी छनोट गरी मनोनयन गरिएको मञ्चले जानकारी दिएको छ । एसएमएस, फेसबुक लाइक, मञ्चका सदस्य तथा राष्ट्रिय खेलका मुख्य प्रशिक्षकको मतका आधारमा विजेताको घोषणा असार १७ गते प्रज्ञा भवनमा हुने अवार्ड समारोहको दिन गरिनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य स्ट्राइकर सावित्राले वर्ष २०७५ मा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा लगातार उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । भारतमा भएको हिरो गोल्डकप तथा नेपालमै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन उनको भूमिका महत्वपूर्ण थियो । युवा स्टार लामिछाने नेपालले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामा मुख्य खेलाडीको रुपमा छन् ।

नेदरल्यान्ड बिरुद्धको पहिलो एकदिवसीय जितदेखि यूएई विरुद्धको शृंखला जित्दासम्म उनको प्रदर्शन निर्णायक थियो । उनको इण्डियन प्रिमियर लिग आईपीएलदेखि विश्वभरका सबैजसो फ्रेन्चाइज लिगमा प्रदर्शन गरिसकेका छन् ।

गत वर्ष एपीएफले भलिबलका ११ मध्ये १० उपाधि जित्दाका महत्वपूर्ण खेलाडी हुन् ओपन स्पाइकर रेश्मा भण्डारी । राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी रेश्मा वर्षभरि नै चर्चामा रहिन् । १६ वर्षीय किशोर नेपाली ब्याडमिन्टनका भविष्यका रुपमा चर्चित छन् ।

यूएईमा दुवई इन्टरनेशसनमा यू(१५ उमेर समूहमा स्वर्ण जितेर उनले पहिलो अन्तर्राष्ट्रिय पदक भित्र्याएका थिए । घरेलु ब्याडमिन्टनका उमेर समूहका प्रतियोगितामा पनि उनको बर्चश्व छ । थाइल्यान्डमा सम्पन्न दशौं विश्व शारीरिक शुगठन प्रतियोगितामा पुरुष ७५ केजी तौलसमूहमा स्वर्ण पदक विजेता महेश्वरले नेपाललाई ऐतिहासिक सफलता दिलाएका थिए ।

पिपुल्स च्वाइस अवार्डमा समर्थकको एसएमएस भोटिङबाट ५० प्रतिशत गणना हुनेछ । मञ्चको आधिकारिक फेसबुक एकाउन्टमार्फत मनोनयनमा परेका खेलाडीको तस्बिरमा लाइक गरी मत दिन सकिनेछ । चार लाइक बराबर एक मत गणना हुनेछ । मञ्चका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत कायम गरिएको छ ।

यसैबीच, मञ्चले आइतबारै एसएमएस पार्टनरका रुपमा टीएचटी लाइभ ३७७२२ सँगको सम्झौता नवीकरण गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र टीएचटीका वरिष्ठ अधिकृत भूपेन्द्र तामाङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पिपुल्स च्वाइस अवार्डका लागि एसएमएस मतको सुपरिवेक्षण टीएचटीले नै गर्नेछ ।

विश्व खेलकुद पत्रकार दिवस जुलाइ २ (असार १७)मा आयोजना हुने स्पोर्टस अवार्डमा १० विधा छन् । पिपुल्स च्वाइससँगै वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट पाराएथ्लिट अवार्ड र टिम अफ दि इयर प्रदान गरिनेछ । यसपल्टदेखि थपिएको नयाँ बिधामा अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिनेछ ।