झापा । एन्फा झापा जिल्ला फुटबल लिग प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

अर्जुनधारा ९ स्थित खरबन्दीको खेलमैदानमा सुरु झापा लिगको उद्घाटनमा दुई खेल भएका थिए । जसमा सैनिक युथ क्लब र बिर्तामोड युनाइटेड एफसीले विजयी सुरुवात गरेका छन् । दुवै टिमले समान ३–३ अंक जोडेका छन् ।

पहिलो खेलमा सैनिकले रोलिङ क्लब धुलाबारीलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्यो । उसका लागि विकेश लिम्बूले खेलको ४०औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए भने दुर्लप तिवारीले खेलको ६० र ६३औँ मिनेटमा गोल गर्दै तीन अंक बटुल्न सहयोग गरे ।

दोस्रो खेलमा बिर्तामोडले नाइट चेस क्लब काँकरभिट्टामाथि कठिन जीत निकाल्यो । उसका लागि सुमिन मैनालीले खेलको ६५औँ मिनेटमा गोल गरेका थिए । यो जीतसँगै बिर्तामोडले पनि तीन अंक जोडेको छ ।

झापा जिल्ला फुटबल संघले आयोजना गरेको लिगमा भोलि मेची नेत्रालय केएफटिसी काँकरभिट्टा र न्यू स्टार क्लब खोपबाडी तथा बाहुनडाँगी एफसीविरुद्ध बिर्तामोड एफसीबीच खेल हुनेछ ।