झापा । नेपाली राष्ट्रिय फुटबल टोलीले र चाइनिज ताइपेइको राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेल १(१ को बराबरीमा सकिएको छ ।

पहिलो हाफमा पछाडि परेको नेपाललाई दोस्रो हाफको ६४ औं मिनेटमा अभिषेक रिजालले सन्तोष तामाङको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । सन्तोष र अभिषेक दुवै पहिलो पटक सुरुवाती रोजाईबाट खेलेका हुन् । अभिषेकले राष्ट्रिय टोलीका लागि दोस्रो खेल खेल्दै गोलको खाता खोलेका हुन् । उनले मलेसियाविरुद्ध अघिल्लो खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

यसअघि खेलको ४० औं मिनेटमा नेपाल १-० ले पछाडि परेको थियो । घरेलु टोलीका वु चाङ चिङले गोल गरेका थिए । पहिलो हाफमा सुजल श्रेष्ठले गोल गरे पनि रेफ्रीले अफसाइड दिँदा गोल मान्य भएको थिएन । खेल दौरान टोलीको कप्तानी सम्हालिरहेका गोलरक्षक किरण चेम्जोङले केही राम्रो बचाउ गरेका थिए ।

नियमित कप्तान विराज महर्जन विना उत्रेको नेपाली टोलीमा अभिषेक रिजालले डेब्यूको दोस्रो खेलमै पहिलो रोजाईमा स्थान बनाएका थिए । उनले जेठ १९ गते मलेसियाविरुद्ध परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै नेपाली टोलीका लागि ‘डेब्यू’ गरेका थिए ।

नेपाल दुई वटा मैत्रीपूर्ण खेलका लागि वैदेशिक यात्रामा निस्केको थियो । जेठ १९ गते मलेसियासँगको मैत्रीपूर्ण खेल २-० ले गुमाएपछि अर्को खेलका लागि टोली ताइपेइ पुगेको थियो । अघिल्ला तीन खेलमा नेपालले जीत दर्ता गर्न नसकेको मात्र होइन गोल पनि गर्न सकेको थिएन । कुवेतविरुद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली दोस्रो खेलमा १-० ले पराजित भएको थियो ।