एजेन्सी- अनुभवी तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि १५ रनको रोमान्चक जित हात पारेको हो । यस अघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७३ रन बनायो । वेस्ट इन्डिजले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा ओपनर ईभिन लुईसलाई १ रनमा गुमाएको थियो । पाँचौ ओभरको पाँचौ बलमा मिचेल स्टार्कले क्रिस गेललाई २१ रनमा एलवीडब्लू आउट गर्दै पेभिलिएन फर्काए । गेलले १७ बलमा ४ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि शाई होप र निकोलस पुरनले ६८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । २० ओभरको पहिलो बलमा एडम जम्पाले पुनरलाई कप्तान आरोन फिन्चबाट ४० रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया खेलमा फर्किएको थियो । पुरनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । २८ औं ओभरमा शिम्रन हिटमायर २१ रनमा रन आउट भए ।

३५ ओभरको अन्तिम बलमा प्याट कमिन्सले ओपनर शाई होपलाई उस्मान खवाजाबाट १ सय ५ बलमा ७ चौका सहित ६८ रनमा क्याच आउट गराएपछि अष्ट्रेलियाको जितको संभावना बलियो बनेको थियो । आन्द्रे रसेल ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ठूलो शट खेल्ने धुनमा ३९ ओभरको पाँचौ बलमा क्याच आउट भए । ग्लेन म्याक्सवेलले उत्कृष्ट क्याच लिदै रसेललाई पेभिलिएन फर्काए ।

मिचेल स्टार्कको ४६ ओभरको तेस्रो बलमा ठूलो शट खेल्ने धुनमा कार्लेस वर्थवेट फिन्चबाट १६ रनमा आउट भए । स्टार्कलेनै यसै ओभरको अन्तिम बलमा जम्पाद्धारा कप्तान जोसन होल्डरलाई ५१ रनमा क्याच आउट गराएपछि अष्ट्रेलियाको जित लगभग पक्का बनेकोे थियो । होल्डरले ५७ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

स्टार्कलेनै शिल्डन कोर्टेललाई ४७.३ ओभरमा १ रनमा बोल्ड आउट गरे । एलशे नर्श १८ बलमा ४ चौका सहित १९ रनमा अविजित रहे । अष्ट्रेलियाको जितमा मिचेल स्टार्कले १० ओभरमा १ मेडन सहित ४६ रन खर्चेर ५ विकेट लिए । प्याट कमिन्स २ र एडम जम्माले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय ८ ८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि अलराउण्डर नाथन कुल्टर नाईलले तल्लोक्रममा उत्कृष्ट ब्याटिङगर्दै ९२ रनको महत्वपूर्ण योगदान दिए । कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई बलियो लक्ष्य सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेको नाईलले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गरे । ४९ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाईन नजिकै जोसन होल्डरले क्याच लिएपछि उनि आफ्नो करियरको पहिलो शतक बनाउन ८ रनले चुक्न पुगेका थिए ।

त्यस्तै पुर्व कप्तान स्टिभ स्मिथले ७३ रनको महत्वपूर्ण योगदान दिदै बलियो प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए । एक तर्फबाट निरन्तर विकेट गुम्दा स्मिथले अर्को तर्फबाट रन जोडी रहे । ओशन थोमसको ४४.२ ओभरमा बाउन्डी लाईनमा शिल्डन कोर्टेलले एक हातले अविश्वसिनय क्याच लिनु अघि स्मिथले १ सय ३ बलमा ७ चौका प्रहार गरे ।

कमजोर अवस्थामा पुगेको अष्टेलियालाई सातौ विकेटका लागि स्मिथ र नाईलले १ सय २ रनको शतकीय साझेदारी गरेसँगै बलियो अवस्थामा पुगेको थियो । त्यस अघि ७९-५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई स्मिथ र विकेटकीपर एलेक्स केरिले ६८ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । ३०.४ ओभरका आन्द्रे रसेलले केरिलाई कट विहान्ड निकाल्दै विकेटकिपर शाई होपबाट क्याच आउट गराउँदै ४५ रनमा पेभिलिएन फर्काए । केरिले ५५ बलमा ७ चौका प्रहार गरे ।

अष्ट्रेलियाले पहिलो विकेटका रुपमा तेस्रो ओभरको दोस्रो बलमा कप्तान आरोन फिन्चलाई ६ रनमा गुमाएको थियो । चौथो ओभरको अन्तिम बलमा शिल्डन कोर्टेलले शिम्ररोन हिटमायरबाट क्याच गराउँदै डेविड वार्नरलाई ३ रनमा पेभिलिएन फर्काए । सातौं ओभरको अन्तिम बलमा रसेलले होपबाटनै उस्मान खवाजालाई १३ रनमा क्याच आउट गराउदै आफ्नो दवाव कायमै राखे ।

आठौं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेल खराव शट शेल्दै शून्यमा आउट भएपछि अष्टे«लिया संकटमा परेको थियो । मार्कस स्टोइनिस १९ रनमा आउट भए । वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले सर्वाधिक ३ विकेट लिए । ओशन थोमस,शिल्डन कोर्टेल र आन्द्रे रसेलले समान २ विकेट लिए । कप्तान जोसन होल्डरको नाममा १ विकेट रह्यो ।