काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ ।

एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले मंगलबारदेखि काँकरभिट्टामा सुरु सो प्रतियोगितामा सुनसरी च्याम्पियन भएको हो । तीन दिवशीय प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सुनसरी प्रथम, मोरङ दोस्रो र झापाले तेस्रो स्थान हाँसिल गरेका हुन् ।

१३ जिल्लालाई उछिनेर पहिलो भएको सुनसरीले शिल्ड, मेडल र प्र्रमाणपत्रसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रदेश च्याम्पियन बनेको सुनसरीलाई प्रतियोगिताका खेल संयोजक एवं झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले व्यक्तिगत रुपमा उक्त नगद राशि प्रदान गरेका हुन् ।

प्रदेश अन्तर्गतका १४ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका उक्त प्रतियोगितामा टिम दोस्रो भएको मोरङ र टिम तेस्रो भएको झापाले शिल्ड पाएको छ । प्रतियोगितामा सुनसरीले १२ स्वर्ण, १ रजत र २ कास्य, मोरङले ३ स्वर्ण, ३ रजत र ६ कास्य तथा झापाले २ स्वर्ण, ३ रजत र ६ कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरुलाई पुरस्कारस्वरुप क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका सभापति तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनाली, लेखापाल देवीकुमारी न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।

जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीहरुले सो प्रतियोगितामा पुरुषतर्फ ३५ देखि ८० केजी र महिलातर्फ ३५ देखि ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

१४ जिल्लाका करिब २ सय ५० जना खेलाडीले उक्त प्रतियोगितामा १८ वटा विभिन्न तौल समूहमा प्रतिष्पर्धा गरे भने पुम्सेतर्फ पुरुष र महिला खेलाडीले एकल प्रतिष्पर्धा गरेका थिए ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको व्यवस्थापन तथा झापा जिल्ला खेलकुद विकास समितिको स्थानीय व्यवस्थापनमा काँकरभिट्टा खानेपानी संस्था परिसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।