बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको शनिबारको खेलबाट आयोजक रेड स्टार फुटबल क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको खेलमा इलामको त्रिवेणी युथ क्लबलाई ४–१ ले स्तब्ध पार्दै रेड स्टारले बाजी मारेको हो । रेड स्टारका लागि खमिर गिल्सन कन्दङवाको सट्टा मैदान छिरेका शक्ति राईको ह्याट्रिकसँगै शानदार जीत दर्ता भएको थियो । राईले ४८औँ, ६९औँ र ८२औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । त्रिवेणीका लागि ८३औँ मिनेटमा रविन मगरले सान्त्वना गोल फर्काएका थिए ।

यसअघि कन्दङवाले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । खेलको म्यान अफ दी म्याच रेड स्टारका निशान लिम्बू घोषित भए । उनलाई प्रमुख अतिथि शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले नगद तीन हजार प्रदान गरे ।

रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५१ हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् ।