गंगा बराल,
भद्रपुर । झापाको भद्रपुर माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

मंगलबार एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेको प्रतियोगितामा भद्रपुर नगरभित्रका २८ विद्यालय सहभागी थिए भने माध्उमिक तहका विद्यार्थीले खेलकुदमा भाग लिएका थिए ।

प्रतियोगितामा भद्रपुर २ को सगरमाथा मावि सर्वाधिक पदक ल्याई प्रथम भएको छ । उसले ७ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ । पदक तालिकामा चन्द्रभानु मावि दोस्रो र अरनिको मावि तेस्रो भएको आयोजक भद्रपुर नगरपालिका, शिक्षा खेलकुद तथा युवा शाखा अधिकृत ज्ञानबहादुर पौडेलले जानकारी दिए ।

प्रतियोगितामा एथलेटिक्स, कबड्डी र भलिबलका खेलहरु सम्पन्न भएका थिए । शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख उद्धव विष्टको अध्यक्षतामा शाखाका प्रेम भुजेलले सञ्चालन गरेको समापन समारोहमा प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलगायतले विजयी खेलाडीहरुलाई शील्ड तथा मेडल वितरण गरेका थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुले झापा जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।