झापा । टाइब्रेकरमा भाग्यमानी सावित हँुदै पाहुना टोली सुनसरीको पाञ्चायन एफसी प्रथम बिर्तामोड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबले आयोजक रेड स्टार एफसीलाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा आयोजक रेड स्टार फुटबल क्लब र पाञ्चायन एफसीबीच १-१ गोलको बराबरी भएपछि खेल सोझै टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रकेरमा पाञ्चायन ४-२ ले विजयी बन्यो । अब पाञ्चायनले मंगलबार हुने फाइनल खेलमा बिर्तामोडको पूर्वेली युथ क्लबको सामना गर्नेछ ।

यसअघि दोस्रो हाफको १८औँ मिनेटमा पाञ्चायनका कप्तान तीर्थ बस्नेतले उत्कृष्ट गोल गरेका थिए । रेड स्टारको डिफेन्स लाइन अगाडि बढेको मौका छोपी बस्नेतले बल बढाएका थिए । तर, केहीबेरमा गोलरक्षक र डिफेन्डर आए पनि बस्नेतले जाली चुमाए । त्यस्तै, खेलको २७ औँ मिनेटमा आयोजकका सञ्जोग राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ दी म्याच पाञ्चायनका गोल किप्पर अभिषेक खड्का घोषित भए । उनलाई बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।

रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका सचिव प्रेमकृष्ण श्रेष्ठले जनाएका छन् ।