झापा । अत्यधिक गर्मी बढेका कारण झापाको अर्जुनधारामा सञ्चालित निजी विद्यालयले शुक्रबार विद्यालय बन्दको घोषणा गरेका छन् ।

गर्मीले बालबालिकाको अध्ययनमा समस्या उत्पन्न भएको भन्दै शुक्रबारको लागि बिदा दिएको हो । मौसममा सुधार हुने सङ्केत देखापरेपछि विद्यालय सञ्चालन हुने प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बाले जानकारी दिए ।

उनले स–साना नानीहरूलाई मौसमको प्रतिकूलताका कारण प्रभाव पर्ने भएका कारण विद्यालय सञ्चालकबीच सल्लाह गरेर बिदा दिइएको बताए ।

झापामा बुधबार र बिहीबार यो वर्षकै धेरै गर्मी भएको छ । बिहीबार झापाको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको गुगलको रेकर्डमा उल्लेख थियो । शुक्रबार दिनको ११ बजे ३४ डिग्री सेल्सियस अर्जुनधाराको तापक्रम देखाएको छ । विगतका वर्षहरूको भदौ महिनामा समेत झापाको तापक्रम ३९ डिग्रीभन्दा माथि पुगेको थिएन ।