बिर्तामोड- झापाको बिर्तामोडमा ‘झापा नाटक घर’को निर्माण कार्य सुरु भएको छ । पूर्वको चर्चित क्षितिज नाट्य समूहको अग्रसरतामा बुधवारदेखि झापा नाटक घरको निर्माण कार्य शुभारम्भ गरिएको हो ।बिर्तामोड-१ को देवी पञ्चकन्यादेखि एक किलोमिटर उत्तरमा निर्माण सुरु गरिएको भवनको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले संयुक्तरुपमा शिलान्यास गरे । उनीहरुले पञ्चकन्यासहित बैदिक विधिपूर्वक नाटक घरको शिलान्यास गरेका हुन् ।भवन सिलान्यास समारोहमा बोल्दै बिर्तामोड नगरपालिकाका प्रमुख सिवाकोटीले बाटो बनाएर मात्र विकास नहुने भन्दै झापा नाटक घर बिर्तामोडको गौरव हुने बताए । ‘संस्थाको परिकल्पना अनुसार यो सफल पार्ने दायित्व हामी सबैको हो’, नगर प्रमुख सिवाकोटीले भने, ‘तन मन र धन दिएर नगरपालिकाले यसमा सहयोग गर्छ ।’ उनले आफूलाई पनि समूहको सदस्यता दिन माग गरे ।उपप्रमुख प्रसाईले जग्गा दाता निरौला धन्यवादको पात्र भएको बताइन् । उनले नेपाल जातिय सन्तुलन भएको देश रहेको बताउँदै भनिन्, ‘भोलि देशको गहनाका रुपमा बहुजातीय सङ्ग्रहालय चिनिन्छ । त्यतिबेला इतिहास अध्ययनको थलो हुनेछ ।\

आफ्नो जातिय संस्कार र संस्कृति बचाएर नेपालीले विश्वमा छुट्टै पहिचान बनाएको बताउँदै प्रसाईले यसलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु सबैको कर्तव्य भएको बताइन् ।बृहत् सांस्कृतिक सङग्रहालयसहितको नाटक घर निर्माणका लागि बिर्तामोड नगरपालिका-५ निवासी मनोज निरौलाले तीन कठ्ठा जग्गा क्षितिज नाट्य समूहलाई निशुल्क दिएका थिए । निरौलाले जग्गा दिएपछि ‘झापा नाटक घर’ बनाउने समूहको परिकल्पना कार्यान्वयन तहमा गएको हो । ‘जग्गा पाएपछि हाम्रो उत्साह अझै बढेर गयो’, समूहका अध्यक्ष युवा नाट्यकर्मी माधव कल्पित भन्छन्, ‘अब भवन बन्ने पक्कापक्की भयो ।’ अध्यक्ष कल्पितका अनुसार १ करोड १० लाख रुपैयाँको लागतमा नाटक घर बन्न लागेको हो ।भवन निर्माण सुरु गर्नुअघि झोराहाट नाट्य समूहको सहयोगमा क्षितिज नाट्य समूहले बिर्तामोडमा नाटक ‘बर्बरिक’ मञ्चन गरेको थियो । बर्बरिक मञ्चनकै बेला विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम सुरु भएको थियो । स्थानीय सङ्घ संस्था र सामाजिक अगुवाले नाटक घर बनाउने अभियानमा सहयोगको घोषणा गरेपछि निर्माण कार्य सुरु भएको बहुजातिय सङ्हालयसहितको झापा नाटक घर निर्माण संयोजन समितिका संयोजक ज्ञानुराम प्रसाई बताउँछन् । ‘बर्बरिकले राम्रै सहयोग जुटाएको छ’, संयोजक प्रसाईले भने, ‘अब यसको निर्माण कार्यले गति लिन्छ ।

‘ संयोजक प्रसाईकै अध्यक्षतामा आयोजित समारोहका बीच भवन सिलान्यास भएको हो ।झापामा बसोबास गर्ने सबै जातजाति, भाषाभाषी, लिंग र समुदायको अपनत्व कायम हुने गरी बृहत् सांस्कृतिक सङ्ग्रहालय सहितको नाटक घर निर्माण गर्ने आफूहरुको लक्ष्य पूरा हुने चरणमा प्रवेश गरेको क्षितिज नाट्य समूहका अध्यक्ष कल्पितले बताए । ‘कला र प्रतिभा भएर पनि नाट्यशाला अभावमा व्यवसायिक कलाकार उत्पादन गर्न जुन समस्या थियो, अब त्यसको अन्त्य हुने आशा गरेका छौँ’, अध्यक्ष कल्पितले भने ।झापा नाटक घर बनाउन प्रदेश सरकारले पनि सहयोग गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारका तर्फबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । ‘प्रदेश सरकारको सहयोगमा निर्माण कार्य अघि बढेको हो’, निर्माण संयोजन समितिका संयोजक प्रसाईले भने, ‘बर्बरिक मञ्चनका बेला जुटेको सहयोग पनि छँदैछ ।’ बर्बरिक मञ्चन हुँदा झण्डै २७ लाख रुपैयाँ सहयोग घोषणा भएको थियो । त्यो सहयोग जुट्ने क्रममा छ ।कार्यक्रममा बोल्दै निर्माण संयोजन समितिका सह संयोजक कुमार भट्टराईले झापा नाटक घरको निर्माणले पर्यटन प्रवद्र्धन हुनुका साथै भाषा कला र साहित्यको संरक्षणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा समितिकी सदस्य एवम् महिला उद्यमी सङ्घ झापाकी अध्यक्ष पार्वता विमलीले स्वागत गरेकी थिइन् ।शिलान्यास समारोहमा वडा नम्वर-१ का अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे, साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, नेपाल अलैची व्यवसायी महासङ्घ झापाका महासचिव सुवास भट्टराई, चेम्वर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवाल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाई लगायतको उपस्थिति रहेको थियो ।