काठमाण्डौ । प्रतिनिधि सभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो ।

नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहनु भएकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृणित अभिव्यक्ति दिँदा पनि सरकारले कारबाही नगरेकोमा आपत्ति जनाउनुभयो । त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अशिष्ट र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारक ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेस सांसद लक्ष्मी परियारले पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिने, महिलाहरुमाथि अपमान हुने गरी अभिव्यक्ति दिँदै आएका मेयर चौधरीलाई तत्काल कारबाही गर्न सरकारलाई सचेत गराउनु भयो ।

यसअघि प्रतिनिधिसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेपाली का‌ंग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको थियो ।