झापा । १६औं राष्ट्रिय धान दिवसको सन्दर्भमा अर्जुनधारा नगर कृषि शाखा र अर्जुनधारा ७ को महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा आइतबार बेठी लगाएर रोपाइँ महोत्सव सम्पन्न गरिएको छ ।

‘धान खेतीमा प्रविद्यि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मुख्य नारासहित अर्जुनधारा-७ मा आयोजित महोत्सवको प्रमुख अतिथि प्रदेश नं.१ का सांसद् बृख प्रधानले उद्घाटन गरेका थिए ।

संस्थाकी अध्यक्ष नीलाकुमारी दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको ११ कठ्ठा जग्गामा बेठी लगाई सहभागीहरुले धान रोपेका थिए । त्यसैगरी कार्यक्रममा आयोजित हिले दौडको पुरुषतर्फ प्रथम निसान लामिछाने, दोस्रो यामबहादुर पराजुली र तेस्रो चुँडामणी कट्टेल तथा महिलातर्फ प्रथम रेनुका मैनाली, द्वितीय निपेक्षा बराल र तृतीय शर्मिला सुवेदी भएका छन् ।

प्रथम, दोस्रो र तेस्रो हुने सहभागीहरुलाई क्रमशः नगद पुरस्कार एक हजार, पाँच सय र तीन सयबाट पुरस्कृत गरिएको थियो । सोही कार्यक्रमको सन्दर्भमा शाखाले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट कृषक पुरस्कारबाट तीन जना कृषकलाई जनही नगद पुरस्कार पाँच हजार र सम्मान पत्रबाट सम्मानित गरिएको शाखाकी प्राविधिक मीनादेवी अधिकारीले बताइन् ।

पुरस्कृत हुनेहरुमा जीवनकला अधिकारी, डम्बरलाल चौधरी र दिलीप विष्ट रहेका छन् । कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललगायतले पुरस्कार प्रदान गरे । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष नविन ढुंगाना, नेपाली कांग्रेस नगर सभापति हेमराज खरेल, चन्द्रकला भण्डारी, भोला परियारलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाकी उपाध्यक्ष पार्वता भट्टराईले स्वागत र व्यवस्थापक उमा थापाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव गीता अधिकारीले गरेकी थिइन् ।