झापा । स्काइ क्रिएटर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको १ नम्बर प्रदेशस्तरीय मिस्टर एण्ड मिसको फाइनलमा २५ जना छनौट भएका छन् । असार २२ गते भएको फाइनल अडिसनबाट उनीहरु फाइनलमा पुगेका हुन् । असार ८ गते बिर्तामोडबाट सुरु भएको अडिसन असार १६ गते इलाम, असार १७ गते फिदिम र फेरि १८ गते झापामै अर्को अडिसन गरिएको आयोजकका म्यानेजिङ डाइरेक्टर संदीप राजवंशीले बताए । उनका अनुसार फिदिमबाट ५ जना, मोरङ र इलामबाट १-१ जना र बाँकी झापाका स्पर्धी रहेका छन् ।

३७ जना महिलासहित ५० जनाबाट २५ जनालाई अन्तिम तयारीका लागि छनौट गरिएको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले जानकारी दिए । उनका अनुसार ५ पुरुषसहित २५ जना फाइनलिस्ट क्लोज क्याम्पका लागि तयार छन् ।

असार ३० गतेदेखि ४० दिनका लागि क्लोज क्याम्प राखिने स्पर्धीलाई विभिन्न प्रशिक्षण उपलब्ध गराइने आयोजकका कार्यकारी निर्देशक चिरञ्जीवी महतोले बताए । प्रतियोगिताको विजेतालाई नगद राशिभन्दा पनि क्षमता विकासका लागि अवसर प्रदान गर्ने वातावरण सिर्जना गरिएको उनको भनाइ छ ।

अन्य आयोजकले नगद दिँदै आए पनि स्काइ क्रिएटर्सले विजेतालाई मिस प्लानेट इन्टरनेशनल नेपाल र मिस एण्ड मिस्टर वल्र्ड टुरिजम फेस्टिवलजस्ता अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा स्पर्धीको रुपमा पठाइने कार्यकारी निर्देशक महतोले बताए । विजेताले शतप्रतिशत, फस्ट रनरअपलाई ७५ प्रतिशत र सेकेण्ड रनरअपलाई ५० प्रतिशतसम्म काठमाडौँका विभिन्न कलेजमा छात्रवृत्ति प्रदान गरिने भएको छ ।

४० दिनको बन्द प्रशिक्षणपछि २५ जनामध्ये १५ जना सेमिफाइनल राउण्डमा जाने आयोजककी एलिसा अधिकारीले जानकारी दिइन् । उनका अनुसार अन्तिम ७ जनाबाट विजेता घोषणा गरिने भएको छ । कार्यक्रममा आयोजककी कामना नेपाल, सोनिका राजवंशी र तनुश्री वर्मनले पनि आफ्ना भनाइ राखेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।