लीला श्रेष्ठ,
काठमाडौँ । युवतीलाई आईएमओमार्फत् अश्लील तस्बिरहरू पठाई चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गतसाता आईएमओमार्फत् अश्लील तस्बिर पठाई इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी चरित्रहत्या गरेको उजुरीमा प्रहरीले रौतहट गौर नगरपालिका १३ का ३६ वर्षीय उमेशकुमार पासवानलाई पक्राउ गरेको हो ।

गत सोमबार पक्राउ परेका पासवानलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरी प्रधान कार्यालय केन्द्रीय साइबर ब्युरोले जनाएको छ ।

झापा दमक पशुहाटका २१ वर्षीय उज्वल भन्ने समीर घिमिरे पनि पक्राउ परेका छन् । उनलाई एक किशोरीको फेसबुक आईडीको पासवर्ड परिवर्तन गरी अश्लील फोटो आईएमओ तथा म्यासेन्जरमार्फत् पीडितका आफन्तलाई पठाउने, धाकधम्की दिई बेइजत गर्ने, चरित्रहत्या गरेको आरोप छ ।

आफूसँग विवाह नगरेको आरोपमा उनले किशोरीको अश्लील तस्बिर आफन्तहरूलाई पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा म्याद थप गरेको छ । त्यस्तै, १५ वर्षीय किशोरीको फोटो प्रयोग गरी अपरिचित व्यक्तिको नाममा फेसबुक फेक आईडी बनाई फोटोसहित अश्लील शब्दहरू प्रयोग गरी सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले झापा हल्दीबारीका सीताराम भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

शनिबार पक्राउ परेका भट्टराईलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा म्याद थप गरेको केन्द्रीय साइबर ब्युरोले जनाएको छ । यी तीन घटना त उदाहरण मात्र हुन् । इन्टरनेट तथा प्रविधिको बढ्दो लोकप्रियतासँगै चुनौती पनि थपिँदै गएको छ । यसको दुरुपयोग मात्र नभई यससम्बन्धी गम्भीर किसिमका अपराध पनि बढ्दै गएको प्रहरीको भनाइ छ ।

सूचना प्रविधिको बढ्दो पहुँचले खासगरी इन्टरनेटसम्बन्धी र त्यसमा पनि नेपालमा निकै लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकसम्बन्धी अपराध बढेको प्रहरी प्रधान कार्यालय केन्द्रीय साइबर ब्युरो प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० विकास श्रेष्ठ बताउँछन् । चालू आर्थिक वर्ष ०७६र७७ को दुई सातामै साइबर अपराधका ५० वटा उजुरी ब्युरोमा पेस भएको उनी बताउँछन् ।

जसमध्ये ४५ वटा उजुरी फेसबुकसम्बन्धी अपराधका छन् । ३ वटा युट्युब, १ ट्वीटर र १ अन्य छन् । केन्द्रीय साइबर ब्युरो स्थापनाको करिब तीन महिनामा १ सय ९० उजुरी परेका छन् । भोटाहिटीस्थित २०७६ वैशाख २९ मा डीआईजीको नेतृत्वमा केन्द्रीय साइबर ब्युरो कार्यालय स्थापना भएको हो । ब्युरोका अनुसार साइबर अपराधसम्बन्धी अपराधमध्ये फेसबुकसम्बन्धी उजुरी बढ्दै गएका छन् ।

गतआर्थिक वर्ष ०७५/७६ मा साइबर अपराधसम्बन्धी ३ सय ५७ वटा उजुरी परेकामा त्यसमध्ये १ सय ७१ वटा फेसबुकसम्बन्धी मात्र छन् । साइबर अपराधसम्बन्धी उजुरीमध्ये ३६ वटा उजुरीको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो, ४६ वटाको युजर डिटेल माग गरिएको र १ सय ७१ को फेसबुक अकाउन्ट बन्द गरेको र १ सय ४ उजुरीको अनुसन्धान जारी रहेको जनाएको छ ।

फेसबुकबाट विभिन्न व्यक्तिको चरित्रहत्या हुने किसिमका सामग्री पोस्ट गर्ने, अश्लील फोटो ट्याग गर्ने, नक्कली फेसबुक अकाउन्ट बनाउनेजस्ता उजुरी परेकोडीआईजी श्रेष्ठले बताए ।

काठमाडौंमा मात्र मुद्दा दर्ता हुने हुँदा साइबर अपराधको न्यायिक पहुँच उपत्यकाबाहिर न्यून छ । उजुरी र न्यायका लागि काठमाडौं आइपुग्नुपर्ने झन्झटले पीडितहरू न्यायबाट टाढै छन् । उपत्यकाबाहिर सेवा प्रवाहका लागि जनशक्ति तथा साधनस्रोतको कमी भएको ब्युरोको भनाइ छ । साइबर अपराधसम्बन्धी प्रस्ट कानुनी प्रावधान छैन । यसबाहेक संस्थागत क्षमता बलियो भइसकेको अवस्था छैन । मुलुक भरका विद्युतीय अपराधसम्बन्धी मुद्दा हेर्ने एकल निकायका रूपमा काठमाडौं जिल्ला अदालत मात्र छ ।

०६४ देखि काठमाडौं जिल्ला अदालतलाई साइबर अपराधको क्षेत्राधिकार तोकिएकोमा एउटै मात्र अदालत भएका कारण यसबाट पाइने न्याय ढिलो, खर्चिलो, झन्झटिलो हुनुका साथै सहर पहुँचमा नभएकोसरोकारवाला व्यक्तिको गुनासो छ । इन्टरनेट तथा प्रविधिको बढ्दो लोकप्रियतासँगै बढेको साइबर अपराध न्यूनीकरणका लागि प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने डीआईजी श्रेष्ठको सुझाव छ । ‘आफ्नो पासवर्ड कसैलाई दिनु हुँदैन, समयसमयमा परिवर्तन गरिरहनुपर्छ’, उनले भने, ‘इमेलमा काम गरिसकेपछि साइन आउट गर्नुपर्छ ।’

सामाजिक सञ्जालमा अनावश्यक तस्बिर राख्ने, व्यक्तिगत विवरण राख्ने, अपरिचित व्यक्ति वा संस्थाबाट आएको इमेल नखोल्ने, इमेल तथा मोबाइलमा आउन सक्ने आकर्षक उपहार चिठ्ठाको भर नपर्ने, मेल वा मेसेन्जरमा आएको अनावश्यक लिङ नखोल्नेलगायत कार्य गरे मात्र पनि अपराध न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । प्रत्येक कम्प्युटर प्रयोगकर्ताले सेक्युरिटी सफ्टवेयरहरूको प्रयोग गर्नुपर्ने, विद्युतीय उपकरण मार्फत कुनै पनि अश्लील सामग्री आदानप्रदान गर्न नहुने प्रहरीको सुझाव छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।