काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसके पनि टेष्ट राष्ट्र आयरल्यान्डसहित पाँच देश सम्मिलित क्रिकेट सिरिज खेल्ने भएको छ ।

ओमान क्रिकेटको आयोजनामा ओमानमा अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा ओमान सहित टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली क्रिकेट टिमले अक्टोबर ५ तारिखमा ओमान ५ देशको सहभागिता रहेको टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएको हो । जसमा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।

ओमान क्रिकेट संघले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्नु पर्नेछ । यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी घरेलु टिम ओमान रहेको छ ।

आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट अगाडि हुने प्रतियोगिता ५ अक्टोबरबाट १० अक्टोबरसम्म हुनेछ । ५ देशको सहभागिता रहेको प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरेको छ ।

ओमान क्रिकेट संघले पहिले नै आयोजना गर्ने भनेर तय गरेको थियो । तर नेपालले विश्वकप छनोटमा स्थान बनाउन नसकेपछि नेपाल खेल्ने की नखेल्ने भन्ने यकिन थिएन । तर आइसीसीले नेपाललाई खेल्न अनुमति दिएपछि खेल्ने पक्का भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाउने सबै प्रतियोगितामा आईसीसीको रेख देखमा प्रतिस्पर्धा गर्दै आएको छ ।

नेपाल दुई साता अघि सिंगापुरमा सम्पन्न आईसीसी टि-२० विश्वकप छनोटमा सिंगापुर र कतारसँग पराजित हुँदै बाहिरिएको थियो । यसका बाबजुद पनि आईसीसीले नेपाललाई प्रतियोगिता खेल्ने स्वीकृति दिएको हो ।