एजेन्सी । युरोपियन च्याम्पियन्स लिग सिजन २०१८-१९ को युइएफए गोल अफ दी सिजनको अवार्ड स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले जितेका छन् । गत सिजन मेस्सीले इंग्लिस क्लब लिभरपुलविरुद्ध सेमिफाइनमा गरेको दर्शनीय र चर्चित फ्रिकिक गोललाई समर्थहरुले अनलाइन भोटिङबाट सिजनकै सर्वोत्कृष्ट गोलका रुपमा छानेका हुन् ।

गत सिजन सेमिफाइनलअन्तर्गत बार्सिलोनाको घर क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा मेस्सीले लिभरपुलविरुद्ध दर्शनीय फ्रिकिक गरेका थिए । उनले गत सिजन प्रतियोगिताकै सर्वोत्कृष्ट गोलकिपर घोषित ब्राजिलियन गोलकिपर एलिसन बेकरविरुद्ध सो गोल गरेका थिए ।

मेस्सीले २ गोल गरेको सो खेल बार्सिलोनाले ३-० गोलले शानदार ढंगले जितेको थियो । अर्को १ गोल लुइस स्वारेजले गरेका थिए । सो खेलमा भएका ३ वटै गालको चर्चा अहिले पनि हुन्छ । जसमा मेस्सीको फ्रिकिक गोलको तारिफ विश्वभरिबाट भएको थियो ।

यसपटक गोल अफदी सिजनका लागि मेस्सीसँगै इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो, बार्सिलानाकै इभान राकिटिकसहित १० जना मनोनयनमा परेका थिए । जसमा मेस्सीले आफ्ना खास प्रतिस्पर्धी रोनाल्डोलाई पछि पार्दै सो अवार्ड जितेका हुन् ।

यसअघि यइएफएले भने रोनाल्डोले समूह चरणमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको वान टच दर्शनीय भली गोललाई सर्वोत्कृष्ट घोषित गरेको थियो । तर, समर्थकहरुले भने रोनाल्डोको गोललाई छाडेर मेस्सीको चर्चित फ्रिकिक गोललाई गोल अफ दी सिजनका रुपमा छानेका हुन् ।

गत सिजन मेस्सीले सो गोल गरेको खेल बार्सिलोनाले ३-० गोलले जिते पनि लिभरपुलको घरमा दोस्रो लेगमा बार्सिलोना ४-० लज्जास्पद हारको सिकार भएको थियो । पहिलो लेगको फराकिलो अग्रता दोस्रो लेगमा जोगाउन नसक्दा कार्सिलोना अप्रत्यासितरुपमा सेमिफाइनलबाटै बाहिरिएको थियो ।

गत सिजन लिभरपुलले सेमीमा बार्सिलोना तथा फाइनलमा लिग प्रतिस्पर्धी क्लब टोटनह्यामलाई हराएर उपाधि जितेको थियो ।