अर्जुनधारा । झापा र इलामको सिमानामा रहेको बाबियो खोल्सीमा पुल निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका २ र माइ नगरपालिका ५ मा पर्ने उक्त खोल्सीमा नवनिर्मित पुलको शनिबार उद्घाटन गरिएको छ ।

अर्जुनधाराका मेयर हरिकुमार राना र माइका मेयर दिपक थेवेले रिबन काटेर संयुक्तरुपमा पुलको उद्घाटन गरेका हुन् । ३३ लाख ४५ हजार २६० रुपैयाँको लागतमा निर्मित पुलका लागि अर्जुनधारा र माइ नगरपालिकाले समान १४ १४ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए भने उपभोक्ता समितिले ५ लाख ४५ हजार २६० रुपैयाँ जनसहभागिता जनाएपछि पुल निर्माण सम्पन्न भएको हो ।

उपभोक्ता समितिकी अध्यक्ष शारदा समालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अर्जुनधाराकी उपमयेर कमला खतिवडा आचार्य, वडाध्यक्ष रघुनाथ खनाल, बोर्ड सदस्य दिलमाया दासलगायत दुवै स्थानीय तहका जनप्रतिनिधि साथै सरोकारवाला समुदायको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका उपाध्यक्ष लोकेन्द्र विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लिलानाथ न्यौपानेले गरेका थिए ।

पुल निर्माणपछि इलाम र झापाका स्थानीय बासिन्दालाई आवतजावतसँगै स्थानीय उत्पादन बजारसम्म लैजान सहज भएको छ भने विद्यार्थीलाई अध्ययनका लागि वरदान सावित भएको छ ।