बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको नेतृत्व चयन भएको छ । आइतबार बिर्तामोडमा सम्पन्न मञ्चको दोस्रो अधिवेशनले हिमाल खरेल अध्यक्षमा निर्वाचित भए ।

मञ्चको समन्वय शाखा झापामा गठन भएको एक दशकपछि निर्वाचन हुँदा अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदबाहेक अन्य पदमा निर्विरोध भएको थियो । अध्यक्षका प्रत्यासी इन्द्रजीत मुखियालाई ६ मतले पराजित गर्दै खरेल निर्वाचित भएका हुन् । मुखियाले २६ मत प्राप्त गरेका थिए ।

समितिको मुख्य चार पदमा खरेल र मुखियाको प्यानल चुनावी मैदानमा उत्रिएको थियो । जसमा सचिव र कोषाध्यक्ष मुखिया प्यानलले जित्यो भने अध्यक्षसहित सहसचिव पदमा खरेल प्यानल विजयी भयो ।

उपाध्यक्ष पदमा भने अमित खम्बू निर्विरोध निर्वाचित भए । उनले खरेल प्यानलबाट उम्मेद्वारी दर्ता गराएका थिए तर विपक्षीबाट उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भए । त्यस्तै, सचिव पदमा अर्जुन राजवंशी निर्वाचित भए । दुई मतले विजयी भएका राजवंशीका प्रतिद्वन्द्वी सचितआनन्द सुब्बाले २८ मत ल्याएका थिए ।

सहसचिव पदमा सर्वाधिक ८ मतको फरक रह्यो । निर्वाचित भूमिका सुब्बाले ३३ मत ल्याउँदा प्रतिद्वन्द्वी लिलाराज झापालीले २५ मत पाएका थिए ।

कोषाध्यक्ष पदमा राजु पौडेलले ३१ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी बुद्ध तामाङले २७ मत ल्याए । तामाङ यसअघिको समितिमा कोषाध्यक्ष पदमा थिए । निर्वाचनमा ५९ मतमध्ये ५८ मत खसेको थियो ।

समितिको सदस्यमा आयुष निरौला, भारती राई, विष्णु श्रेष्ठ, कमल पाण्डे, प्रकाश बानियाँ र तिलक योञ्जन निर्विरोध चयन भए । समितिको बैठकले अन्य दुई जनालाई सदस्यमा मनोनित गर्ने प्रावधान छ ।

२०६६ सालदेखि निरन्तर नेतृत्व सम्हालेका अध्यक्ष रमेश समदर्शी राईको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि मञ्चका केन्द्रीय अध्यक्ष देवेन्द्र सुवेदी, पूर्व अध्यक्ष अजय फुयाल लगायतको आतिथ्यता रहेको थियो ।

मञ्चल शनिबार र आइतबार फोटो पत्रकारिता तालिम समेत सञ्चालन गरेको थियो । जसमा फोटा जर्नालिस्ट क्लबका अध्यक्ष विकास कार्की र फोटो जर्नालिस्ट विजय गजमेरले सहजीकरण गरेका थिए ।

मञ्चले खेल क्षेत्रमा लागेका व्यक्तित्वको वृत्ति विकासका लागि बर्सेनि झापा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।