झापा । झापाको बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा आज विहान बम विस्फोट भएको छ । बम विस्फोटबाट गरामनीमा रहेको संयुक्त वडा कार्यालयको झ्याल, फर्निचर र वालमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

नचिनेको समूहले झापाको बिर्तामोड नगरपालिका अन्तरगत रहेको तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको हो । बिर्तामोड ९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित बिर्तामोड ७, ८ र ९ नम्बर वडा कार्यालय भवन बाहिर सोमबार बिहान साढे ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ । कार्यालय भवन भित्ता, ६ वटा सिसाका झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको हो । ‘भवन आसपासमा विस्फोट भएजस्तै ठुलो आवाज आएपछि तत्काल घटनास्थलतर्फ अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली पुगे’, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘भवन बाहिर विस्फोट त भयो, तर आगलागी नहुँदा कार्यालयको आवश्यक कागजातसहित अन्य सामानहरूमा ठुलो क्षति भएन ।’

बिर्तामोड-भद्रपुर सडक खण्डसँगै जोडिएको संयुक्त वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ । अहिलेसम्म घटनाको बारेमा कसैले जिम्मा नलिएको प्रहरीले जनाएको छ । घटनाबारे बुझ्न प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायव उपरीक्षक श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठ घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

यता झापा प्रहरीले नेत्र चन्द विक्रम (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरूले बम विस्फोट गराएको हुन सक्ने आशङ्का गरेका छन् ।